
टहराकाे छेवैमा
पर्खाल बनेर
अग्लाे टावर ठडिएपछि
टहराकाे घाम पनि
उतै रमाउँदाे रहेछ, उतै हराउँदाे रहेछ।
घाम हराउँदा,
टहराबाट
एउटा घाम मात्र हराउँदैन,
अरू धेरै कुराहरू हराउँछन्—
चाेक र गल्लीहरूबाट
घामकाे अटुट पाइला हराउँछ।
घामसँगै भविष्यकाे आशा,
एक मीनपचास भराेसा,
र झुपडीकाे विश्वास हराउँछ।
छाेरी अन्माएपछिकाे घरझैँ
सबै चिजहरू उदास हुन्छन्।
आगन-ओसारा,
झ्याल-ढाेका—
पिँढी र खाटहरू सुनसान हुन्छन्।
घामजस्ताे छर्लङ्ग
कहाँ खुल्छ र मन?
घाम नै नभएपछि…
मन खाेलेर कुरा गर्न,
हावा खुलेर सुसाउन,
हाँगामा पातहरू फरफराउन,
माटाेमा सुवास मगमगाउन,
फूलबारीमा मौरी भुनभुनाउन छाड्छन्।
पुतलीले हराउँछ घरकाे बाटाे,
बाकाे छातीभित्र कतै अड्किन्छ खुशी।
घर जत्तिकै पुरानाे मठमा
आमाले राेपेकाे
तुलसीका पातहरू ओइलाउँदै झर्छन्।
आकांक्षाकाे पर्खाल चढ्दा
बेगमबेलीका लहराहरू निराश हुन्छन्।
एउटा घाम ओझेल पर्दा
हुनु नहुनु धेरै कुराहरू हुन्छन्।
घरकाे मुली हराएझैँ
केटाकेटीकाे अनुहारमा ग्रहण लाग्छ,
अँध्यारोमा निसास्सिदै
चराहरू
विरानाे आकाशमा उडान भर्छन्,
बगैँचाकाे ऐतिहासिक राैनक हराउँछ,
रङ्गविहीन हुन्छ घर,
ओसिलाे हुन्छ छिँडी र काेठा।
ठक्करका हजाराैँ जँघारहरू तरेका
बाजेकाे अनुहारबाट
मुस्कानकाे चम्किलाे जून हराउँछ।
तर, त्यसपछि पनि
जीवनका झिल्काहरू बाँकी नै रहन्छन्।
त्यसपछि पनि
जीवनकाे मेलाे गाेड्न
छाड्दिनन् आमाले।
पुरानाे टुकी खाेजेर तेल भर्छिन्,
सलेदाे सल्काउँछिन्,
मानाैं अँध्याराेलाई राेक्न
ढाेकामा दिउँसै आग्लाे लगाउँछिन्।
आँखा नचिम्ली
आँखामा दाेहाेर्याउँछिन् पुरानै सपना—
गुँड फर्केका चरा,
र बचेराहरूले भरिभराउ पारिलाे आँगन।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

