आज शहरमा तीनतिर जुलुस छ
मलाई तिनैतिर जानु छ
र जानीजानी नजानेझैँ गरी प्रश्न गर्नु छ

देश बेच्ने को हो
भाषा र भेष बेच्ने को हो
तिम्रो चुरीफुरी कसरी बढ्यो था’छ
आमा बेच्ने को हो
घरको खाँबा बेच्ने को हो
सर्वाङ्ग पारेर- बैनीको जामा बेच्ने को हो

अत्ति भएपछि नै हो –
ढुङ्गा माटोले पीड़ा बोल्न थालेको
भग्नावशेष र खरानीले पोल्न थालेको

जत्ति सम्झ्यो त्यति नै घृणा लाग्छ
मन्दिरको धन बेच्ने को हो
देउताको मन बेच्ने को हो
देशको मर्म बाँच्ने धरातलसम्म नराखी
वेद, पुराणको वैभव बेच्ने को हो

तिमीलाई था’छ – भनिदिन्छौ कि
मलाई बेच्ने को हो ?

चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ