जन्मिएपछि यो हरित भूमिमा
मैले थुप्रै रङ्गीन सङ्गत गरें
तर तिम्रो जस्तो निःस्वार्थ
र जीवनोपयोगी साथ कसैको पाइनँ
प्रिय पर्यावरण,
जब म तिम्रो गहिरो प्रेममा परेँ
तिमीले आभास दिलायौ
प्रेममा कति शक्ति हुँदोरहेछ
तिमीसँगको सामीप्यले
नयाँ जीवन पाएँ
हौसिदै बहकिदै
तिम्रै प्रेमका खातिर
पागलपनको हद पार गरें मैले
कतिले बुझे मेरो प्रेम
कतिले लत्याए
जसले जे भने पनि
मैले तिम्रो प्रेम त्याग्न सकिनँ

जब म तिम्रो प्रेममा परेँ
तिम्रै आलिङ्गनमा बेरिएर रहेँ
तिमी हाँस्दा सँगसँगै खित्किन्छु
तिमीलाई पीडामा देख्दा
असाध्यै पीडा हुन्छ मलाई
प्रिय प्रकृति,
तिमी मेरो जीवनधारा हौ ।

मान्छेहरू विकासका कुरा गर्छन्
तर, विकासले सँगै ल्याएको
विनाशबारे सोच्दै सोच्दैनन्
प्रदूषणले आक्रान्त ‘प्रताडित पृथ्वी’
पिल्सिइरहँदा बेचैन हुन्छु म
तिमीलाई न्याय दिलाउन
तिमीलाई पीडाबाट जोगाउने
मेरो हरदमको प्रयास निरर्थक हुन्छ अनायासै ।

मनको बह पोख्दै
कोरेकी थिएँ ‘वृक्षको विलौना’
त्यो त केवल विलौना न थियो
तर समयसँगै त्यही विलौनाले
जन्माइदियो मनमा अर्को काव्य
‘रुखको रोदन’ त्यहीँ थियो
अवरोध बन्यौ विकासको लहरमा
मृत्युपत्रको बिल्ला लगाइयो तिम्रो छातीमा
त्यो दिनदेखि झन् विक्षिप्त हुन पुगेछु
‘रुख काट्न किन हतार’´ भन्दा
मेरो मुख नै थुनिदिए
तिमीलाई माया गरेका शहर पनि घुमेँ
‘रुखले असर नगरेको शहर’ ले मन जित्यो
तर केही सीप लागेन मेरो
तिम्रो रक्षार्थ बोल्ने कोही भएन
मात्र आवाज एक्लियो
यो निर्दयी शहरमा

तिमीलाई हिजोझैँ देख्न
अनि आज जस्तै भेट्न
भोलि पाउँला कि नाइँ ?
त्रसित मन छटपटाइरहन्छ
देख्छु जताततै
तिमीलाई सखाप पार्नेहरूको ताँती
कोही बोल्दैन तिम्रो रक्षार्थ
सबैलाई चाहिएको छ विकास
तिमीमाथिको विनाशकारी नीति
रोक्न खोज्छु एक्लै
तर केवल हुन्छु कागको बथानमा बकुल्लो
केही गर्न सकिनँ तिम्रो रक्षार्थ
शिवाय आँशू वर्षाउन
हेर्दाहेर्दै जुन दिनको डर थियो त्यही भयो
हराभरा सडक क्षणभरमै
मरूभूमितुल्य भए
बाँकी रहे मात्रै कङ्क्रिटका महलहरू
यतिबेला म
एक्लै-एक्लै
फगत एक्लै
भौँतारिइरहेकी छु
मानव निर्मित यो खण्डहर सडकमा
पर्या चिन्तामा पिरोलिँदै ।
ooo