एउटा वृद्ध पक्षी
बाक्लो बस्तीबीच -एक टहराको
माथिल्लो भागमा
त्यसअघि कोही बसेर बसाइँ सरेको- वा
कसैले जुटाइदिएको- पुरानो गुँडमा
कुज्जिएका खुट्टा र पखेटा स्यहार्दै
आफ्ना उत्तरार्धका दिन काटी रहेछ

उसलाई बिल्कुलै सन्चो छैन
शारीरिक रुपमा निर्बल छ
मानसिक रुपमा जीर्ण छ
विगत प्रेतसरह एक भूत भएको छ
वर्तमान कहालीलाग्दो धुसामा बेरिएको छ
भविष्य हुस्सेले ढाकेको खोला गड्तिर जस्तो-
सुसाउँछ तर केही देखिँदैन
ऊ अपुरा सपनाका किर्कौलाहरू
एकान्तमा बसेर भावनाका नाङ्ग्लामा
छिन्की रहन्छ

पक्षी न हो- एकनास बस्न पनि सक्तैन
ऊ बेलाबेला घिस्रदै गुँडबाट निस्किन्छ
र, सकी नसकी बार्दलीको एउटा आटमा बस्छ
बार्दलीबाट घरी घरी टहरा आसपास
अनि, पर परसम्म देखिने
बोट-बिरुवा अनि पोथ्रा पोथ्रीहरुमा
निर्धक्क रमाइरहेका अनेकन प्रजातिका
चराहरू देख्छ

ऊ, मनमनै उड्छ
चहार्छ अनेकन वन जंगल
पहरा पखेरा, समतल मैदान अनि कुना कन्दरा
ऊ रमाउँछ प्रफुल्लित भई-
मानौं ऊ वर्षौंपछि पुन: छुटेको छ
जन्जिरयुक्त पिञ्जराबाट

उसका खिइसकेका नंग्रा
कुज्जिएका पखेटा जब कटक्क दुख्छन्
ऊ भरङ्ग हुन्छ र पाउँछ आफूलाई
कमिला सल्बलाई रहेका त्यही टहराको बार्दलीमा-
ऊ झस्किन्छ, उसको मन चस्किन्छ
भ्रम या यथार्थ- ऊ छुट्याउन सक्तैन – एकोहोरो
टोहोलाउनु, एकान्तमा छट्पटाउनु
सम्झँदै कहालीलाग्दो मृत विगतसँग तड्पिनु
वृद्ध पक्षीको दिनचर्या !

ऊ सकी नसकी घिस्रदै पुग्छ उही पुरानो गुँडमा
कसैले जुटाइदिएको चारो टिप्न खोज्छ
त्यो विगतमा पिञ्जराका दिवाल कोट्याउँदा
मठुरिएको चुच्चोले टिपेको चारो- कतिचोटि

मुखमा नपुग्दै झर्छ;
मानौं उसका सयौं सपना त्यसरी नै
योजनाका मुखमा पुग्दा नपुग्दै- ऊ
शिकारी गिद्दका फन्दामा परेको थियो
जंगलमा चराहरूलाई खतरा हुँदा
ऊ चिच्याएर कराएको थियो;
उसले गिद्दका विरुद्ध करायो
अरु चरा तितरबितर भए;
कति अनाहकमा मरे
कति कसो कसो बाँचे
दश दिशान्तर भागे-
अरु चराका लागि ऊ कराएकै कारण
धेरै दसकअघि –
गिद्दका पिञ्जडामा परेको थियो

ऊ एक निडर पक्षी हो !
गिद्दका पिञ्जरामा ऊ गल्दै गलेन
वनमै आगो लाग्दासमेत ऊ जल्दै जलेन
कसो कसो प्राण बोकेर पिञ्जराबाट मुक्त भो-
लामो स्वास लियो !
लरबर- लरबर गर्दै- घिस्रीँदै
कुज्जिएका पखेटा फट्कार्दै
निरस अनि त्यो उजाड जंगल नियाल्यो
सुनसान थियो वन !
ती वर्षौंअघि दश दिसान्तर भागेका
चरा सम्झँदै उसले पनि त्यो वन छोड्यो

एक दूर जंगलमा बासस्थान खोज्दै ऊ पुग्यो
ती तितरबितर भएका चराहरू
एक नदी बगर छेउछाउ
बोट बिरुवाका छहारीमा
एकीकृत भएको भेट्यो-
एकाध ऊ खुसीले गदगद भो
मानौं ऊ गुमेका सपना बटुल्न सक्ने भो
उसमा जोस पलायो
भित्र जस्तो भए पनि बाहिरी ऊ बहुतै रमायो !

समय, जीवन र सपना- केवल पल भरका
भने झैँ-
उसको खुशी लामो समय टिकेन
सपना चकनाचुर भए-
ती तितरबितर भएका चराले चिन्नै छोडे
ऊ फेरि एक्लो भो !

गिद्धका पिञ्जराबाट छुटेको ऊ
फेरि परिबन्धको शिकार भो
उसका आफ्ना ठानिएका चराहरू
पुन: आकाशमार्ग हुँदै अरु नै वनतिर लागे
उसका आफ्नैले पनि सात समुद्र तरे !
ऊ भने स्वार्थप्रेरित कौवाका परिबन्धमा पर्यो
फेरि उसको सपनाको धरहरा
भूकम्पले ढाले झैं गर्ल्याम-गुर्लुम ढल्यो
अर्को पिञ्जरामा उसको जीवन शुरु भयो !

ऊ एक निडर पन्छी हो !
कौवाका पिञ्जरामा पनि ऊ गल्दै गलेन
लगाइएको डढेलोमा पनि ऊ जल्दै जलेन
कसो कसो प्राण बोकेर कौवाको पिञ्जराबाट मुक्त भो
तैपनि उसको मेरो भन्ने केही रहेन

ऊ एक टहराको माथिल्लो भागमा
त्यसअघि कोही बसेर बसाइँ सरेको- वा
कसैले जुटाइदिएको- पुरानो गुँडमा
पिञ्जराकै सरह जीवन बाँची रहेछ
आजभोलि ऊ घरी घरी मन मनै बोल्छ-
‘मेरो छैन भन्ने केही छैन
मेरो आफ्नो भन्ने सबै थोक छ-
मसँग छ भन्ने केही छैन
मेरा आफ्ना सबै छन्
म सँग आफ्ना कोही छैनन् !’

ऊ मानसिक रुपमा यति जीर्ण छ
ऊ आज पनि उही गिद्दको इशारामा
जीवन बाँची रहेछ,
ऊ एकान्तमा पनि कसैले बोलेको सुन्छ
यसो गर उसो गर भनेको उसलाई याद छ
उसलाई सुत् भन्ने अर्कै छ
उसलाई उठ् भन्ने अर्कै छ
हिजोआज ऊ विपनामा समेत सपनामा झैँ तर्सिन्छ
मानौं ऊ एउटा कुनै अदृश यन्त्र मार्फत नियन्त्रित छ
ऊ गिद्ध र कौवाको जन्जिरभित्र
चेपिनसम्म चेपिएको छ !

अमेरिका