
वाह, क्या गज्जब
अब त जहाँतहीँ,
पोथीहरू बास्न थालेका छन्
मर्द भालेहरूलाई
डाह लाग्ने गरी
हाँस्न थालेका छन्
पोथी बोकेर
बतासे फुल नपार्नलाई
भाले खोज्न
हिँड्न पर्दैन अब
एउटै भालेले
सयौँ पोथीलाई
ठुँग्न पाउँछु भन्ने सोचेर
मख्ख नपर्नु भालेहरू हो
अब त तिम्रो
जुरो समेत नहेरी
सबै पोथीहरूले
चल्ला कोरल्न सक्छन्
त्यही एउटा जुरोलाई
सर्वमान्य सोचेर
पोथीहरूलाई अन्याय र
अत्याचार ग-यौ भने ?
सबै पोथी मिलेर
तिम्रो जूरो मात्र होइन
शरीरका प्वाँख समेत
भुत्ल्याइदिन्छन् अब
जूरोविहीन अनि
निर्वस्त्र शरीर मन पर्दैन भने
प्यारा भालेहरू
पोथीहरूलाई
माया गर्न सिक
सम्मान गर्न सिक
चल्ला कोरल्नलाई
आलोपालो
ओथारो बस्न सिक
पोथीले जस्तै
आफूले नखाएर
चल्लालाई खुवाउन सिक
औसतमा पाँच इन्चको
जूरोको दम्भ छोड
समाजले भालेको मूल्य बढाएकोमा
आफ्नो घमण्ड छोड
प्यारा भालेहरू
आफ्नो अस्तित्व बचाउने भए
पोथीको इच्छा बिना
उसलाई ठुँग्न छोड
थाहा छ नि है ?
अब भालेले डाँको छोडेर
बास्दैमा
उसको मूल्य बढ्दैन
चौबीसै घण्टा भाले बास्यो भने
पोथीले दुःख गरिरहँदा
भाले मस्त भई हाँस्यो भने
त्यस्ता भालेलाई
ऊ बस्ने खोरबाट लखेटिन्छ
त्यसैले
सृष्टिका स्वतन्त्र भालेहरू
होसियार अब
पोथी बास्न थालेपछि
रोकिन जान्दैनन्
आफ्नै पहिचानमा रमाउँछन्
भालेसँग ठोकिन जान्दैनन्
खुला आकाश र खुल्ला धर्ती
मनपर्छ पोथीलाई
भाले बस्ने खोरको उकुसमुकुसमा
पोखिन जान्दैनन्
प्यारा पोथीहरू
रोक्दै नरोकिने गरी
बास्नुपर्छ अब
आफ्नै पौरखमा
उन्मुक्त भई, हाँस्नुपर्छ अब ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

