सधैँ नाचेको नाचै
यो कस्तो नाच भुमरीको ?
कुटिल चालले नचाउँछ जीवनको मञ्चमा
नाच्न जान्नेलाई नचायो, नजान्नेलाई पनि नचायो
नाच्दिन भन्दाभन्दै कसैलाई छल गरेरै नचायो
सबै ढङ्ग बिर्स्याएर आफ्नै तालमा नचायो
नर्तक बनेका मान्छेलाई नृत्यशालामा फँसायो

सधैँ फँसेको फँसै
यो कस्तो नाच भुमरीको ?
ईन्द्रजाल बिछाउँछ जिन्दगीको बाटोमा
कोही नजानेर फँसे, कोही धेरै जानेर फँसे
कोही बाध्यताले फँसे, कोही अज्ञानताले फँसे
निर्बली त फँसे फँसे, बलवान् पनि फँसे
चुम्बक बनेको भुमरीमा मान्छे फलाम बनी फँसे

सधैँ घुम्दै घुमाउँदै
यो कस्तो नाच भुमरीको ?
घनचक्करले बनाउँछ आपतको आहाल
कहिले तान्डव तालमा, कहिले भैरव चालमा
सुख शान्ति बढार्यो, खसाल्यो गहिरो खाडलमा
घुम्ने कुर्सीमा जेलिएर, आशमा बाँचेछ इच्छा
पोल्ने हन्डरमा पिल्सिएर त्रासमा फँसेछ अभिलाषा

सधैँ छलेको छलै
यो कस्तो नाच भुमरीको ?
मान्छेलाई भिडाउँछ कहिलै नजित्ने नृत्यमा
उसैको रङ्गशाला, उसैको नृत्यशाला, कस्तो जटिल चाला
प्रतिस्पर्धा बेजोड छ भुमरीको, पुरस्कार बन्छ मृत्युशाला
नियन्त्रण गर्दछ रङ्गमञ्च, नाटक छलकारी रचेछ
निर्णायक आफैं बनेर प्रतिस्पर्धा आफैं जितेछ

यो कस्तो नाच भुमरीको ?
सधैँ नाचेको नाचै
सधैँ फँसेको फँसै ।

भोलाझार, असम, भारत