
(५) कम्युनिष्ट फ्रिडा

फ्रिडा
बस दुर्घटनामा परेर चिकित्साशात्रको पढाइ छोडेपछि फ्रिडा चित्रकला र राजनीतिमा सक्रिय भइन्। फ्रिडाले बीस वर्षको उमेरमा सन् १९२७ मा मेक्सिकन कम्युनिष्ट पार्टीकी सदस्यता लिइन्। अमेरिका उनलाई मन नपरे पनि आर्थिक रुपमा सबल हुनलाई उनी अमेरिकामा गएर चित्रहरू बनाउँथिन् र त्यहाँ आफ्ना चित्रहरू प्रदर्शनी गर्थिन्। कलाकारका रूपमा उनले अमेरिका छँदा चित्रकलाका नयाँ प्रविधिहरू पनि सिक्न पाइन् । उनी आफ्ना चित्रहरूले विश्वभरिका साम्यवादी आन्दोलनलाई सघाओस् भन्ने चाहन्थिन् । उनी साम्यवादी विचारधारादेखि कति प्रभावित थिइन् भने उनले मार्क्सवाद, फ्रिडा र स्टालिन नामका चित्रहरू पनि बनाएकी थिइन् । ट्राटस्की शरणार्थीको रूपमा मेक्सिकोमा पुग्दा फ्रिडाले उनलाई मेक्सिकन सरकारले शरणार्थीको मान्यता देओस् भनेर महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । ट्राटस्कीको हत्यामा फ़्रिडाको पनि संलग्नता रहेको शंका गरेर प्रहरीले उनलाई दुई दिन कैदमा पनि राखेको थियो। फ्रिडा साम्यवादी राजनीतिप्रति कति समर्पित थिइन् भने न्यूमोनियाले ग्रस्त हुँदा पनि सीआइए (CIA) ले ग्वाटेमालामा हस्तक्षेप गरेको विरोधमा २ जुलाई १९५४ देखि भएको प्रदर्शनीमा उनी सहभागी भएकी थिइन्। प्रतिकूल स्वास्थ्य स्थितिका बाबजुद प्रदर्शनीमा सहभागी भएका कारणले उनको स्वास्थ्य झन् बिग्रियो। उनलाई लाग्न थालेको थियो‑ उनी मृत्युको नजिक छिन् । उनले डायरीमा लेखिन्, ‘म प्रशन्नताका साथ प्रस्थान गर्ने प्रतीक्षामा छु र मलाई आशा छ, अब म कहिल्यै फर्कने छैन ।’
४७ वर्षको उमेरमा १३ जुलाई १९५४ मा उनको देहान्त भयो।
मेक्सिकाली क्रान्ति (Mexican Revolution) पछि मेक्सिकालीहरूमाझ मेक्सिकाली परम्परागत एज्टेक धर्म, दर्शन र प्राचीन मेक्सिकाली संस्कृतिको पुनरुत्थान भएको थियो। औपनिवेशिक संस्कृतिविरुद्ध यो मेक्सिकाली संस्कृतिको उत्तरऔपनिवेशिक पुनरुत्थान थियो। मेक्सिकानिदाद (Mexicanidad) भनिने यो आन्दोलनसित फ़्रिडा पनि जोडिएकी थिइन् र उनका चित्रहरूमा यो आन्दोलनको पनि प्रभाव परेको छ। वास्तवमा मेक्सिकानिदाद उत्तरआधुनिक आन्दोलन थियो जसले पश्चिमी सांस्कृतिक वर्चश्वबाट मेक्सिकोलाई मुक्त गर्न खोजेको थियो ।
मेक्सिकाली एज्टेक धर्म, दर्शन र संस्कृतिको पुनरुत्थानमा सहभागी भएकी कम्युनिष्ट र स्त्रीवादी फ्रिडा प्रगतिशीलताको परम्परागत , कट्टर व्याख्याभन्दा बाहिर गएर उत्तरआधुनिक प्रगतिशील भइसकेकी थिइन् ।

फ्रिडा
उनी आफ्ना राजनीतिक विचारहरूलाई चित्रमा व्यक्त गर्न चाहन्थिन्। चित्रकला उनका लागि आफ्नो राजनीतिक विचार व्यक्त गर्ने माध्यम भएको उनले यसरी व्यक्त गरेकी थिइन्, ‘मैले मेरा आत्मचित्रहरू धेरै बनाएँ। अब म त्यस्ता चित्रहरू बनाउन चाहन्छु जुन क्रान्तिका लागि उपयोगी होऊन् किनकि मेरो जीवनको उद्देश्य नै क्रान्ति हो ।’
यहाँ प्रस्तुत कवितामा कम्युनिष्ट फ्रिडा न साम्राज्यवादी अमेरिकाको सातो लिन्छिन्, न पुरुषप्रधान समाजलाई कुनै सुझाव दिन्छिन् । कविता उनको निम्ति राजनीति गर्ने थलो होइन । कविता उनका लागि सबैभन्दा पवित्र स्थल हो, जहाँ उनी आफ्नो आत्माको कुरा मात्र राख्छिन् । राजनीति उनी आफ्ना चित्रहरूमा गर्छिन्, मेक्सिकन कम्युनिष्ट पार्टीका कार्यक्रमहरूमा गर्छिन् । प्राचीन धर्म, दर्शनलाई अवैज्ञानिक ठानेर तिनलाई तिरस्कार गर्ने नेपाली प्रगतिशील विद्वानहरू र कतिपय स्त्रीवादीहरूका अगाडि कम्युनिष्ट फ्रिडाको मेक्सिकाली एज्टेक धर्म र दर्शन पुनरुत्थान गर्ने मोह अनौठो लाग्छ र हामीलाई सोच्न बाध्य पार्छ – नेपाली प्रगतिशील विद्वानहरू थप प्रगतिशील हुनु पर्ने हो कि फ्रिडा अर्कै ब्रह्माण्डकी कम्युनिष्ट र स्त्रीवादी थिइन् ?
‘एउटा पहाडले मात्र जानेको हुन्छ अर्को पहाडभित्र के छ’, ‘मेरा हातहरू सुन्तलाहरूभित्र गढेका हुन्छन्’ जस्ता मर्मस्पर्शी वाक्यहरू रहेका यो कविता पनि आशा र जीवनले भरिएको छ।
डिएगो,
यो प्रेम होइन,
न कोमलता हो
न हो अनुराग ।
यो जीवन स्वयम् हो, मेरो जीवन,
जुन मैले पाएँ
जसलाई मैले तिम्रा हातहरूमा, तिम्रो मुखमा
र तिम्रो छातीमा देखेँ।
मसित मेरो मुखभरि
तिम्रो ओठको बदामको स्वाद छ।
हाम्रा संसारहरू कहिल्यै बाहिर गएनन्।
एउटा पहाडले मात्र जानेको हुन्छ अर्को पहाडभित्र के छ।
तिम्रो उपस्थिति मानौँ बिहानलाई पर्खंदै
मेरो हुनुलाई बेरेर केही क्षण तैरन्छ।
मैले मेसो पाउँछु कि म तिमीसित छु।
ऐन्द्रिक अनुभूतिहरूले भरिएको त्यस क्षणमा
मेरा हातहरू सुन्तलाहरूभित्र गढेका हुन्छन्
र मेरो देहले तिम्रा हातहरूले बेरिएको महसुस गर्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

