डा. मुकुन्द पथिक

राष्ट्रकविको महाप्रस्थान, भयो नि साँझमा
बुबाको मुख सन्तानले हेरे, परिवार माझमा
परिवारमात्र के भन्नु हरे ! राष्ट्र नै रोयो नि
नेपाली जनका धुकधुकी उनी, मन यो छोयो नि ।

शान्त होस् मरण भन्दथे उनी, त्यस्तो नै भयो नि
न चर्को घाम, न पर्यो झरी, न हुरी चल्यो नि
शीतल हावा बहेको थियो, चरीको लयमा
आकाश पनि खुलेको थियो, त्यो आफ्नो वयमा ।

घिमिरे जब स्वर्गमा पुगे, हँसिलो मुहार
स्वागत गरिन् गौरीले त्यहाँ, थिएन जुहार
फूको माला लगाइदिइन्, श्रद्धाले झुकेर
हर्षको आँसु साटासाट गरे, मनले बुझेर ।

सम्हाल्न गाह्रो भयो नि धेरै, भक्कानो छुट्यो नि
मनको बह पोख्नलाई अब, साइत जुर्यो नि
बस्नुहोस् यता भनेर ठाउँ, गौरीले देखाइन्
स्वामीको सेवा गर्ने त्यो धोको, मज्जाले मेटाइन् ।

गौरी — संझेर सधैं हजुरलाई, समय बिताएँ
हजुरकै भलो होस् सधैं भनी, मनले चिताएँ
शान्ति र कान्ति गर्दैछन् के के ? हे स्वामी ! सुनाऊ
टुहुरा थिए कस्तो छ ऐले ? हालचाल सुनाऊ ।

राष्ट्रकवि — हे गौरी ! मैले खण्डकाव्य नै, रोएर लेखें नि
किताबको नाम राखें नि ‘गौरी’, वेदना देखें नि
हे गौरी ! तिमी नगर चिन्ता, राम्रो छ अवस्था
घरबार राम्रो चल्दै छ ऐले, भैसक्यो व्यवस्था ।

गौरी — महाकालीले गरिन् नि सेवा, म हेर्थें बसेर
सिउँँदोको सिन्दूर पुछियो उनको, बस्लिन् के गरेर ?
आमाको माया आठ सन्तान्लाई, बाँडेर साँच्दछिन्
हजुरको नाम ईश्वरको ध्यान, गरेर बाँच्दछिन् ।

राष्ट्रकवि — अन्तिम स्वास फेरेको पनि, उनैले देखेको
पवित्र सेवा पाउनलाई, दैवले लेखेको
भन्यौ नि ठिकै हे मेरी प्राण ! औषधी खाएको
शताव्दीसम्म सेवा शुश्रूषा, मैले नै पाएको ।

गौरी — हजुरलाई मानसम्मान, पाएको हेर्दथें
सपना देखी सुतेको बेला, म कोल्टो फेर्दथें
हजुरका कृति के कति भए ? खुल्दुली लाग्दछ
हजुरलाई पाएँ मनको चिन्ता, सबै नै भाग्दछ ।

राष्ट्रकवि — मानसम्मान जेजति पाएँ, सन्तुष्टि मिल्यो नि
दर्जनौं मेरा कृति छन् प्यारी, प्रसिद्धि पायो नि
ऋतम्भरा त्यो महाकाव्य छ, अब त छापिन्छ
महŒव त्यसको कति छ भन्ने, सबैले जानिन्छ ।

गौरी — नेपालको ऐले कस्तो छ खबर? सुन्न त्यो पाउँन
सबैको कल्याण होस् भनी यौटा, राष्ट्रगान गाउँन
माइती देश कस्तो छ मेरो ? हिमाल हाँस्छ कि ?
लेकमा डुली डाँफे र मुनाल, बेसरी नाच्छ कि ?

राष्ट्रकवि — नेपालको खबर राम्रै छ प्रिय, प्रकृति उस्तै छ
माइती तिम्रो राम्रो छ डाँफे, मुनाल नाच्दै छ
विश्वमा ऐले महामारी छ, समस्या थपियो
मानवमनमा अदृश्य पीडा, बेसरी रोपियो ।

गौरी — नेपाली मनमा हजुरको गीत, गुञ्जिन छाड्यो कि ?
हजुरको इच्छा नपुग्दै कालले, माथि नै डाक्यो कि ?
वाङ्मय अब नियाश्रो मान्दै, बस्दैन होला नि ?
मस्र्याङ्दी, मेची, गण्डकी, काली, सुसेल्दै रोला नि ?

राष्ट्रकवि — हे मेरी प्राण ! मेरा ती गीत, गुञ्जिन्छन् बेसरी
अमर भए ती मेरा कृति, भनूँ म कसरी ?
वाङ्मय धेरै पैmलिदै गयो, संसार ढाकियो
नेपाली मनमा संस्कृति हाम्रो, मज्जाले बाँडियो ।

गौरी — स्वर्गमा पनि बाँसुरी धुन, सारङ्गी बज्दछ
रङ्गीबिरङ्गी फुल्दछन् फूल, मयूर नाच्दछ
प्रदूषण यहाँ हुँदैन हजुर, दुःख नै हुँदैन
हाँसेर बसौं शान्तिको यात्रा, रोगले छुँदैन ।

राष्ट्रकवि — यो मेरो देह त्यागेको होइन, परमात्मा भेटेको
जीवनको सार बुझेर ऐले, धोको यो मेटेको
निसार छ यो जिन्दगी हाम्रो, ब्रह्म नै सत्य छ
फेरिन्छ चोला पातझैँ हाम्रो, प्रकृति नित्य छ ।