डा. वीरेन्द्र केसी

यो कहाँ पुग्यौं नेपाली आज नेपाल नाप्दैछौँ ।
बनाई देश धुरी न छानो पसल थाप्दैछौँ ।।

लड्दैछौँ किन वैरी नै सरी दाजुभाइ आपसी ।
फोर्दैछौं किन हरिया फाँट रारा र रापती ।।

तिमीलाई हेर्छ तिलाठी तिमी देश बिलो लाउँदैछौँ ।
नेपाली शिर झुकाउदै उत्तर दक्षिण धाउँदैछौँ ।।

लक्ष्मणपुर डुब्दा मुटुको चाल बढ्दैन भने त ।
रगतमा बाबा के नेपाली हुन हेरौँ है अब त ।।

काँगडा टिस्टा न खोज्ने आँखा न दुख्ने मुटुलाई ।
कसरी भनूँ अमरका सन्तान वीरका दाजुभाइ ।।

बनाई टुक्रा पुर्खाको नासो गौरव हुँदैन ।
आमाको छाती चिरेको देख्दा कुन छोरो रुँदैन ।।

न हाँस्छन् आज गुराँस न त गुलाब मुस्काउँछन् ।
दुःखी ती काली कर्णाली कोशी विरह सुस्साउँछ ।।

जनताकै लागि लडेका भए गरिबलाई मानो खोई ।
छिँडीमा बास ती चिसा रात जीवन बित्छ रोई ।।

माटोले माग्छ पसिना तर चढाउँछौँ रगत ।
खुशीका दिन उदाउँछन् भन्ने आश मर्यो अब त ।।

निभ्दैछ किन आशाको दियो देश कता पुग्दैछ ।
सहिदको रगत विधवा सिउँदो जवाफ खोज्दैछ ।।