
रेहान खान
हिजो मलाई मेरो
मृत्युले बचाएको थियो
आज मलाई मेरो
जिन्दगीले मारेको छ ।
हिजो म
चिहानको अँध्यारो कोठाभित्र
आफूलाई उज्यालो महसुस गर्दै थिएँ
आज म
घरको उज्यालो कोठाभित्र
आफूलाई अँध्यारो महसुस गर्दैछु
त्यहाँ
बिछ्यौना थिएन
तर आराम थियो
यहाँ
बिछ्यौना छ
तर आराम छैन
त्यहाँ
कसैको ओहोरदोहोर थिएन
म एक्लो थिएँ
तर एक्लोपना थिएन
यहाँ
प्रायः को ओहोरदोहोर हुन्छ
म एक्लो हुदिनँ
तर एक्लोपना हुन्छ
त्यहाँ
शरीर मेरो लोप हुँदै थियो
माटोसँग मिल्दै, घुल्दै
जसबाट यो बनेको छ
तर आत्मा मेरो प्रकटन हुँदै थियो
परमात्मासँग बोल्दै, डुल्दै
जसको लागि यो बनेको छ
यहाँ
शरीर मेरो प्रकटन हुँदैछ
पाप-पुण्य, अन्याय-न्याय, रीति-कुरीति,
हिंसा-अहिंसा, प्रेम-घृणा,
करुणा-क्रूरता, पवित्रता-अपवित्रता, कर्म-कुकर्म,
धर्म-अधर्मसँग मिल्दै, घुल्दै
तर आत्मा मेरो लोप हुँदैछ
आफैँसँग बोल्दै, डुल्दै…।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

