देश बनाउन हिँडेका सासंदहरू
संसद्मा निद्रा पुर्‍याइरहेका भेटिन्छन्
एकजुट बनाउन देशलाई, पद लिएकाहरुरू
ऐनामा आफूलाई व्यक्ति मात्र देख्दछन्

भट्टीमा कविता सुनाइरहेको कविझैँ
कोही एकोहोरो बोलिरहन्छ रोस्ट्रमबाट
शिर गाडेर मोबाइलको स्क्रिनमा कोही
देशभन्दा महत्त्वपूर्ण कुरा खोजिरहन्छ

गम्भीरता कहाँ छ ?

कुनै साधारण कार्यक्रम जस्तो
साथीभाइ मिलेर पिकनिक गए जस्तो
खै कस्तो कस्तो
मन्टेसरी स्कूलको कक्षाजस्तो
कोलाहल मात्र छ, गनगन मात्र छ

यो सब देखेर अब अघाएको छ
रोस्ट्रम छेउ खडा, देशको झण्डा

गोडा हुँदो हो त
चुपचाप कुनै रात
कसैलाई थाहै नदिई
भागिदिन्थ्यो होला ऊ

संसद्मा लाज भएको
आखिर उही मात्र त छ ।