(२ ) दुःखी फ्रिडा

विद्यालयको अध्ययन जसोतसो पूरा गरेर फ्रिडाले चिकित्साशास्त्र पढ्न थालेकी थिइन् । सेप्टेम्बर १९२५ को एक दिन कलेजबाट घर आउँदा बिर्सेको छाता लिनलाई उनी फर्किन्। पछि छाता लिएर घर आउँदै गर्दा उनी चढेको बस दुर्घटना भयो। यो दुर्घटनामा धेरै यात्रुहरू मरे। एउटा फलामको डन्डी फ्रिडाको कम्मरको हाडलाई छेडेर वारपार भयो। उनको कम्मरको हाड धुजा धुजा भयो, पाठेघर र पेट च्यातियो, ढाड तीन ठाउँमा भाँचियो, दायाँ खुट्टा एघार ठाउँमा भाँचियो। काँधको हाड भाँचिएको थियो। करिब छ महिनाको उपचारपछि उनी हिंड्न सक्ने भइन् । यो दुर्घटनापछि उनको डाक्टर बन्ने सपना अन्त्य भएको थियो। यो दुर्घटनापछि जिन्दगीभरि उनी कमजोर र अस्वस्थ भइरहिन् । चित्रहरू बनाउन छाडेकी फ्रिडा यो दुर्घटनापछि पुनः चित्रकलातिर फर्किन् ।

फ्रिडाको स्वास्थ्य आजीवन समस्याग्रस्त रहिरह्यो । उनले दुईपटक गर्भपतन गराउनु पर्यो भने खुट्टाको बुढी औँलामा गैङ्ग्रिन भएपछि औँला काट्नु परेको थियो। एक पटक अपेण्डेसाइटिसको शल्यक्रिया गर्नु परेको थियो । क्षतिग्रस्त ढाडको समस्याले गर्दा उभिन, हिंड्न उनले छाला र फलामले निर्मित उपकरणहरू नियमित रूपमा उपयोग गर्नु पर्थ्यो । जीवनको उत्तरार्द्धमा उनका खुट्टाहरू सधैंभरि दुखिरहन्थे । उनका हातका सामान्य घाउहरू जटिल र दुःसाध्य हुन थालेका थिए।

सन् १९४१ मा बुवाको देहावशानपछि उनी अवसादमा डुबिन्।

चालीसको दशकको मध्यतिर उनको ढाडको समस्या यति बल्झिएको थियो कि उनी बस्न, उभिन सक्दिन थिइन्। उनी ढाडको शल्यक्रियाको लागि अमेरिका पुगिन्, जहाँ डाक्टरहरूले ढाडलाई सिधा पार्न ढाडभित्र स्टिलको पाता राखे। तर विविध कारणले उनको यो शल्यक्रिया सफल हुन सकेन। डाक्टरहरूले उनलाई पूर्णरुपमा ओछ्यानमा आराम गर्ने सल्लाह दिए तर उनले डाक्टरका सल्लाहलाई उपेक्षा मात्र गरिनन् कि एक पटक त घाउको मलहम पट्टी समेत फ्यालेर घाउलाई खोलिन्। सन् १९५० मा उनको ढाडमा अर्को शल्यक्रिया गर्नु परेको थियो। मेक्सिकोमै गरिएको यो शल्यक्रिया पश्चात घाउ निको हुनुको साटो बल्झंदै गयो। फलत: अन्य थुप्रै सहायक शल्यक्रियाहरू गर्नु पर्यो। उपचारपछिका दिनमा उनी हिंडडुल गर्न ह्विलचेयर र बैसाखीमा आश्रित भएकी थिइन्।

दायाँ खुट्टामा गैङ्ग्रिनले गर्दा उनको दायाँ घुँडाभन्दा तलको भाग काटेर फ्याल्नु परेको थियो। उनी गहिरो अवशादमा थिइन् र चिकित्सकहरूको सल्लाहभन्दा धेरै पेनकिलर खान थालेकी थिइन् । आफ्नो पूर्वपतिको अन्य महिलाहरूसितको सम्बन्धमा कमी नआएपछि उनले एक पटक अत्यधिक पेनकिलर सेवन गरेर आत्महत्या गर्ने प्रयास पनि गरेकी थिइन्। उनले आफ्नो डायरीमा एक ठाउँमा लेखेकी थिइन्, ‘डाक्टरहरूले मलाई शताब्दीयौंसम्म पुग्ने यातना दिए। मैले धेरै पल्ट आफ्नो ज्यान लिन चाहेँ ।’ पूर्वपति डिएगोसित कानूनीरुपमा अलग्ग भए पनि उनी डिएगोलाई अझै प्रेम गर्थिन्। त्यसैले डायरीमा उनले लेखेकी थिइन् – ‘डिएगोलाई न्यास्रो होला भनेर मैले आफूलाई मार्न सकिरहेकी छैन ।’

डिएगोसित प्रेममा परेपछि लेखिएको प्रस्तुत कवितामा अलंकारहरू थुपारिएको छैन । सामान्य शब्दहरूले सामान्य मानिसले झैँ लेखिएको यो कवितामा न कुनै आग्रह छ, न कुण्ठा । शारीरिक प्रतिकूलता हुँदा पनि कवितामा उनी न भाग्यलाई सराप्छिन्, न ईश्वरलाई गाली गर्छिन् । कवितामा उनी कोहीसित बाझ्दिनन् न कसैसित गुनासो गर्छिन् । उनी अति सामान्य लाग्ने चिजहरूसित खुसी हुन्छिन् । उनी कुनै ठूलो काल्पनिक संसारको पछि दौडन्नन् । उनी आफ्नो अगाडि जुन जिन्दगी छ त्यो जिन्दगी मात्र बाँच्छिन् ।

म जे हुन चाहन्छु
म त्यो हुन चाहन्छु
बौलठ्ठीपनको पर्दा पछाडि:
म दिनभरि
यी फूलहरुलाई हेरविचार गर्न चाहन्छु,

पीडा, प्रेम र कोमलताका चित्रहरू बनाउन चाहन्छु,

अरूहरूको मूर्खतामाथि भित्रैबाट हाँस्न चाहन्छु,
अनि सबैले भन्नेछन्:
‘कस्तो वाहियात, यो केटी पागल हो।’
(म आफैँमाथि पनि भित्रैबाट हाँस्नेछु।)
म त्यस्तो संसार बनाउनेछु जुन,
म बाँचुन्जेल
अरु संसारहरूसित
बाँचिरहनेछ ।