प्रिया
टाढा छु अहिले
पर पर
मरुभूमिको रापमा
यहाँ
प्रेमका फूलहरू फुल्दैनन्
आरनमा तताएको फलाम जसरी
डामिनुपर्छ प्रत्येक क्षण
यसबेला मैले तिमीलाई
प्रणय दिवसको शुभकामना
भन्न सकिन
रातो गुलाब उपहार दिन सकिन
उहिले लेखिएका
भाँती भाँतीका प्रेम पत्रहरू
अनेक चित्रहरू
नदी किनारमा कोरिएका
आकृतिहरू
पानीको छल्काले मेटेर लगेको
सम्झिरहेको छु ।
त्यही थियो हाम्रो गाढा प्रेम
त्यही थियो हाम्रो भ्यालेन्टाइन
हाम्रो प्रेमलाई
प्रणय दिवस मनाइरहनु पर्दैन
अग्निको फेरोभन्दा
कसिलो सम्बन्ध अरु हुँदैन
तिमी तेजवान् छौ र घर उज्यालो छ
तिमी गतिशील छौ र जीवनमा प्रगति छ
हाम्रो प्रेम अदृश्य छ हावा जस्तै
हाम्रो प्रेम रङ्गिन्छ इन्द्रेणी जस्तै
त्यसैले प्रिया हाम्रो प्रेमलाई
गुलाब चाहिन्न
म त अलिकति मुस्कान दिन सक्छु
सहयात्राको यात्री बन्न सक्छु
उचेराहरूमा उपचार बन्न सक्छु
प्रिय
टाढा छु अहिले
मबाट कृत्रिम प्रेमको
आशा नगर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










