मेरो बच्चपना देखेको पाखलाई भनिदिनू
तिम्रो साथी यौवनको उमेर देखाउन आउँदैन

चुँडिएको एक जोर चप्पललाई भनिदिनू
तिमीसँग रिसाएर जोड्दै लगाउन आउँदैन

दौडदा अल्झिएर लडेएको ढुङ्गालाई भनिदिनू
तिमीलाई रिसाउँदै उठेर हिर्काउन आउँदैन

निश्छल बगिरहेको खोलालाई भनिदिनू
तिमीसँग प्यास मेटाउन अन्जुली थाप्न आउँदैन

रातमा फुलेका ती गुराँसलाई भनिदिनू
उसको मायाका लागि तिम्रो गुच्छाबाट एक थुँगा लुछेर लाँदैन

सेताम्य टल्कने हिमाललाई सुनाइदिनू
तिमीलाई हेरेर एक्लै टोलाउन आउँदैन

मन दुखेको बेला सुनिदिने ती भिर पहरालाई भनिदिनू
तिमीलाई मनको बह सुनाउन कहिल्यै आउँदैन

साँझ भूत भनेर तर्साउने ती रूखलाई भनिदिनू
तिम्रो साथी राति अब कहिल्यै हिँड्दैन

एक्लै बर्सिएको झरीलाई भनिदिनू
तिमीसँग रूझ्न साथी आउँदैन

पूर्णिमाको जूनेली रातलाई भनिदिनू
तिमीलाई हेर्दै मीठा-मीठा प्रेमको कुरा गर्न आउँदैन

सम्झनाको सम्झनामै हराइरहेको मनलाई भनी दिनू
उसलाई समयको उमेरले दौडाइरहेको छ

यादमा आएछ भने भनिदिनु बिर्सिएछ भनेर
सम्झनामा अल्झिएछ भने भनी दिनु बिर्सएछ

आफैँ‑आफैँ हराइरहेको उसलाई
खबर सुनाइदिनु फर्की आउँछ समयको सपनीमा ।