
न कि म हुनुको अस्तित्व स्वीकार्छ
न म रहनुको बोध गर्छ
म जहाँसम्म सोच्न सक्छु
मेरो सोचाइमै अवरोध गर्छ
म कहाँसम्म पुग्न सक्छु दुरी नाप्न सक्छ
म हिँड्ने बाटाभरि काँडा छाप्न सक्छ
ऊ जघन बन्दै गर्दा मलाई जघन्य गराउँछ
म सहन गर्दैगर्दा
म हराएको मौकामा
प्वाल परेको नौकामा
ऊ सागर बीचमा नौका खियाउँदै छ
म कत्ति अत्तालिन्छु चियाउँदै छ
म ऐँठनमा हुँदा
ऊ आँगनमा नाच्न थाल्छ
म शरण पर्नैपर्नै थालेको बेला
देब्रे खुट्टा उचालेरै ढोगाउन खोज्छ
मनमा अहं पालेरै ढोगाउन खोज्छ
म ढोग्न ढोग्न लाग्दै गर्दा
एक थुतुनो भरिको घिन
एक जुनी भरिको ऋण
उस्का पैतालामा अर्पण गर्छु
मेरा राग, मेरा र्याल ग्रन्थिका श्राव समर्पण गर्छु
ती खुट्टामै भए पनि
शायद झुट्टा मै भए पनि
शायद कल्पनाको संसारमा
कि चाहानाको संसारमा
त्यो मन नपरेको पात्रको
नापनक्सा मात्रको
अगतिलो गात्रको
मैले थुक्नुभन्दा पैले
झुक्न सिक्नु पर्नेछ
म ऊभन्दा नै पहिल्यै
पुग्न सिक्नु पर्नेछ
मैले एक कथा कल्पिनु छ मेहफिलमा
ऊ हुनेछ एक डिलमा
मेरो नायकले एक लात्ती तेर्साउँछ
नायिकाले ताली मार्छे
सहपात्र हान्हान् भन्छ
अनि म निर्देशक बन्नेछु
पटकथामै भन्नेछु
मेरो हिरो तिमीले
मलाई मन नपर्ने पात्रको
छातिमा लात नलगाउनु
घाँटिमा हात नलगाउनु
नायक तिम्ले
दैवलाई काम दिनु
इन्साफको ढोका बन्द नगरिदिनु
सबको काम न तिमी सक्छौ, न म सक्छु
रबको काम न तिमी सक्छौ, न म सक्छु
मेरो नमीठो पात्रलाई
उस्ले गरेका
अपमानसँगै छाडिदिनू
उस्का जालझेल
बेइमानसँगै छाडिदिनू
उस्ले गर्न नसकेका
कुर्बानसँगै छाडिदिनू
सही‑गलत, पाप-पुण्य
साक्षात्
भगवानसँगै छाडिदिनू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

