सम्बन्ध अनि भरोसाको कुरा गर्छौ
तिम्रो जग बलियो नदेखे
यहाँ
तिमीले ओढ्ने आकाश,
तिमीले टेक्ने धर्ती त आफ्ना हुदैनन्
कि झरी बनेर पोखिन्छन् शिरमा
कि पहिरो बनेर भासिन्छन् पाउबाट

आफ्नै भन्नेले हेप्छन्
सहारा दिनेले चेप्छन्
हात दिनेले छोड्छन्
वचन दिनेले तोड्छन्

मुटुको छेउमा बस्नेले
मुटुमै तीर फाल्छन्
आँखाको डिलमा रम्नेले
नजरमै पर्दा हाल्छन्

सम्बन्ध कमजोरी हो गलाउने
भरोसा भ्रम हो मन भत्काउने
आशा आगो हो आँत जलाउने

तिमी सम्बन्ध अनि भरोसाको कुरा गर्छौ
त्यस्कै आडमा बाँचेको भ्रममा जिउँछौ

चलाएको सोच्छौ
गलाएको देख्दैनौ
पलाएझैँ मान्छौ
जलाएको देख्दैनौ ।

वालिंङ् २, अर्मादी
स्याङ्जा