
मसी पिउने कीरो
हिउँदको एक रात
म मस्त निदाइरहेको थिएँ
अकस्मात
मेरो सिरकभित्र छिर्यो
चिसो चिसो
निक्खुर कालो हो कि नीलो
झुसिलकिरो
‘अब के गर्ने ?’
सोच्न नपाउँदै
त्यसले भन्यो-
“मलाई बास देऊ!
संसारभरका दुश्मनहरूले
मलाई खोजिरहेका छन्
सुराकी लगाएर लखेटिरहेका छन्
मैले संसारकै नक्साबाट
मसी पिएर आएको छु
म मसी पिउने कीरो-
झुसिल्किरो
मेरो कथा लामो छ
म बोस्नियामा जन्में
र सर्विया हुँदै निस्कें
म गाजामा चारचोटी चिप्लिएँ
र दमास्कसमा दुईचोटी
नुनिलो आँशुको भेलमा
इरानमा म कुरानको पानामुनि लुकेर हिँडेँ
अफगानिस्तानमा एउटी महिलाको मजेत्रोमुनि
म्यान्मारमा
मसानघाटमा च्यातेर फालिएको
एउटा भिक्षुको चिवर ओढेर हिँडेँ
युक्रेन र रूसमा राति राति हिँडेँ
चीनमा ग्रेटवालको किनारै किनार आएँ
र मूर्तिजस्तै उभिएर
मस्त उँघिरहेको सिपाहीको
पैतालानेरैबाट सुटुक्क पार भएँ
उत्तर कोरियामा
मिसाइलको छायाँमुनि
किम इल सुङको टोपीभित्र घस्रिएर हिँडेँ
कश्मीरमा भने हिउँमा लेखिएको रहेछ सिमाना
मैले सागर हुँदै आउँदा
पैतालामा बोकेर ल्याएको
एकचिम्टी नुनले त्यसलाई पगालेँ र पिएँ
दशगजामा कोही देखिनँ
र एउटा काटिएको तुहिनको टुक्रा समाएर
म सरासर यता आएँ
जसरी युरोपमा म बेरोकटोक छिर्ने गर्थें
हिजै मात्र
ट्रकमा मानिस खाँदिरहेका ट्रम्पले
यो बदमासीको खबर पाइसकेका छैनन्
तर
मेरो सबैभन्दा कठोर दुश्मन तिनै बन्नेछन्
हुन त
मैले अल गोरलाई उहिल्यै भनेथेँ-
यो मसीमा अधिक कार्बन छ
र यसैले गरिरहेछ
संसारको अधिकतम अहित ! ”
उसले यसो भन्दै गर्दा
मैले मेरै भित्तामा टाँगिएको
संसारको नक्सा हेरेँ
र त्यहाँ एउटै सीमारेखा देखिनँ
एकाएक एउटा झुसिलकीरो
मेरो बिस्तरामा छिर्दा
शुरूमा त म डराएको थिएँ
तर मैले उसलाई बास दिएँ
र ‘स्याबास् !’ भनेँ ।
छोराको सपना
छोरा,
त्यो आउँछ र ?
हो आमा,
संसार यसरी नै चलिरह्यो भने
त्यो जरूर आउँछ,
यो जुनीमा
हजुरले देख्नु होला, नहोला
म यकीनसाथ भन्न सक्तिनँ
मेरो भने त्योसँग भीडन्त पर्नेछ
त्यसको तयारी कसरी गर्ने भन्ने चिन्ताले
म राम्ररी निदाउन सकिरहेको छैन
आमा, त्यो आउँदा
मरूभूमि माथिको मध्याह्न घाम बरु शीतल थियो भन्ने हुनेछ
आमाडब्लमको अक्करमा वर्षौं अट्किएको
हिउँ बरु न्यानो थियो भन्ने लाग्नेछ
अस्ति भर्खरको नक्खुको रौद्ररूप
उसको उर्लाईको एक दशांश पनि मानिने छैन
उसको सबैभन्दा मन नपर्ने कुरा
शरद, वसन्त, हिउँद, बर्खा केही नभनी
जतिबेला मन लाग्यो त्यतिबेला
कुनै छेकछन्दबिनै
बेहिसाब, बेनियम
जे पनि भएर आउँछ
र कसैले ऐय्या पनि भन्न नपाउँदै
त्यसले कसैलाई डुबाउँछ
कसैलाई बगाउँछ
कसैलाई पुर्छ
कसैलाई भोकभोकै तड्पाउँछ
कसैलाई रोगी पार्छ
कसैलाई घुयेंत्रोमा झैं बेर्छ
र फाल्छ या भुमरीमा हाल्छ
र सुताउँछ, चिर निद्रामा
उसको र हामीबीचको
यस्तो घमासान युद्धको कुरा
अघि कहिल्यै सुनेका छैनौं, आमा !
र फेरि यो पनि निश्चित छ,
जित्ने उसैले हो
हामी त हार्न नखोज्ने मात्र हो
चिच्याउँदै भाग्ने, लुक्ने
र थोरै छटपट गर्ने मात्र हो
हाम्रा शाखा सन्ततिलाई
अलिकति अडिने ठाउँ रहोस् भन्ने हो
नवजात, निर्दोष र अनजान पुस्तामाथि
ऊ अतिशय निर्दयी नहोस् भन्ने हो,
तर
आकाश नै उसको पखेंटामा झुण्डिने हुनाले
उसले नभेट्ने कहीं हुँदैन
धर्ती नै उसको पैतालामा टाँसिने भएकोले
उसले नटेक्ने, नछुने कहीं हुँदैन
त्यसैले मेरो ऊसँगको भीडन्त भन्नु पनि
अत्यन्तै निरीह घुर्कीजस्तै मात्र हुनेछ
उसको हमलाको दाँजोमा
हिरोशिमा र नागासाकीका कथा पनि फिक्का हुनेछन्
ऊ यति क्रोधित भएर आउनेछ कि
उसका सामु
हाम्रो क्षमायाचना र आत्मसमर्पणकै स्वर पनि
आगोमा बाफझैं उडेर जानेछ
तर आमा,
हजुर संसारकै आमा बनेर
त्यो कसैगरी नआओस् भनी प्रार्थना गरेको
मैले सपनामा देखेको थिएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

