हामी
आदिम समयदेखि
उम्रिरहेका छौँ माटोसँगै
झाङ्गिरहेका छौँ वनवृक्षसँगै
ओडेर सिङ्गो आकाश
बगिरहेका छौँ नदीसँगै किनारैकिनार

प्रकृति
जसको स्पर्श पुगेको छ
हाम्रो कणकणमा
जसको छातीमा डामिएको छ
हाम्रो पदचाप

बाझेर बाटो यो प्रकृतिसँग
कुन सांग्रिलाको कल्पनामा
हिंडिरहेका छौँ हामी
अन्योलको यात्रा ?

धेरथोर पत्याए पनि मान्छेले
पत्याउँदैन प्रकृति
जति नै रोपे पनि माटोमा
फुल्दैनन् प्लास्टिकमा फूलहरू
अग्लिदैमा आकाश हुँदैन कन्क्रिटको
हुँदैनन् कागजका कर्याङकुरुङ
खनेर कुवाहरू तेलका
नदी हुन सक्दैन
नदी बिना पानी हुन सक्दैन
हुन् सक्दैन
पानी बिना मान्छे

सबथोक बुझेर पनि नबुझेझैँ
धर्तीको फोक्सो खोक्राउँदै छन्
‘सुकिला’ मान्छेहरू
खुर्कदै छन् हिउँ हिमालहरूबाट

सङ्कटमा छ
आन्दोलित छ प्रकृति
प्रकृति आन्दोलित भएको यो समयमा
अक्षम्य अपराध हो मौनता

आऊ खोजौँ
अघि बढाउन यात्रा
हाजारौँ छन् विकल्प बाटोहरू
एउटा निर्विकल्प
बाँचेको छ प्रकृति
समयको शैशावकालदेखि ।