
जपेर मन्त्र बोलाएँ तिम्रो नाम
पहाडको बतासले खबर ल्यायो
नदीले सुसायो तिम्रो आवाज
रूखका पातहरूले सुनाए तिम्रो रहस्य
म एक्लो धामी र तिमी आत्मा
सपनामा मात्र होइन यो,
यो जन्मभन्दा उहिलेको कथा
जब म ढ्याङ्ग्रो बजाउँछु,
तिम्रो मुटुको तालमा,
र धरती भन्छ–
“यो प्रेम प्रकृतिले लेखेको छ,
यो आत्माले आत्मालाई चिनेको छ।”
हिमालमा गएँ र हिउँका रापसित सोधेँ
मधेशका मैदानमा झरेँ र छामेँ तिम्रो सिउँदोको घाम,
जंगलका पात पात सरसराए,
र तिनीहरूले एक स्वरमा भनिदिए–
“तिम्रो प्रेम कहिल्यै मर्दैन।”
यो केवल जुनीको संगत होइन
यो परलोकसम्मै बहने बन्धन हो
जसरी माटोले जानीसकेको छ
आगो, हावा र पानीको कथा
प्रेम केवल दोधार होइन
कुनै बाधा र दूरीले थाम्न नसक्ने प्रवाह हो यो
हामी दुई शरीर हौँ, तर मन एउटै
हामी दुई स्वर हौँ तर गीत एउटै
म तिमीभित्र छु
तिमी मेरो श्वासप्रश्वासमा छौ
म चिन्तामा बसेको छु प्रिय
तिमी जहाँ भए पनि
म मनमा ढ्याङ्ग्रो बजाइरहनेछु
र प्रकृतिले मलाई बताइरहनेछ–
हामी सँगै थियौँ, छौँ र रहन्छौँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

