
थान्को
लगाएर भारी
टेको
लगाएर जीउ
जब सुस्ताउँछन्
भरिया दाइ चौतारीमा
पसिनाको कोलाजमा
चुहेर तप्प तप्प
पसिनाकै बुँद
रङ भरिदिन्छ जीवनको !
भरिया दाइ
अर्कैको भरोसा, सुख र खुसी
बोक्छन् आफ्नो पिठ्युँमा
आफ्नो लागि त
उनले बोक्ने भनेको
झिनो आशा हो
एक थुङ्गो भोलिको खुसीको !
बडेमानको
रुखको फेदनेर बसी
घरी आफूलाई हेर्छन् भरिया दाइ
घरी त्यही रुखको पहेँलिँदै गरेको पात !
सम्झेर
पातको जस्तै सुक्दै गएको
आफ्नो आत्मविश्वास
दुखी बन्छन्, अरट्ठिन्छन्, बाउँडिन्छन्
तैपनि
झर्न चाहन्नन् भरिया दाइ
पातजस्तै पहेँलिएर
हेर्न चाहन्छन्
आफू हरियो छँदै
सन्तानको
मखमली जीवन
हुन त
उनलाई थाहा छ
झरेपछि पात
रुखले पल्लवित हुने अवसर पाउँछ
प्रत्येक नयाँ वसन्तमा भनेर !
यदि
झरे भने भरिया दाइ
पातजस्तै पहेँलिएर
काँचो उमेरमै
हराउनेछ ऊर्जा
र भत्किनेछ भरोसा समाजको
अनि
अठ्याउनेछ कसैले
लालीगुराँसको घाँटी
च्यातिदिनेछ कसैले
कुमुदको अधर
फोहो-याइ दिनेछ कसैले
गुलाफको लाली
र बन्नेछ
संसार अधुरो
विचरा कोपिलाहरूको !
अर्घाखाँची



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

