देख्नमा ईश्वर जस्तै मौन
तर
व्यवहारमा अति नै वाचाल
मौनहरूका पनि मनमा कुरा छन्
उनीहरूकै कुरा पहिले सुनौं

विवेकसिवाय कसैको केही नचाहने
दिन मात्र जान्ने
लिन नमान्ने
आफ्नो स्वतन्त्र अस्तित्वमा जे फल्छ
त्यसैलाई सन्तुष्टि मान्ने
कसैसँग नडग्ने, नझुक्ने
मन दुखाइदिन आइलागे
बाँकी नराख्न पनि नचुक्ने
मौनहरूको मन दुख्ला
ढिलो नगरी
पहिले उनीहरूकै कुरा सुनौं

पहाडहरू मौन छन्
नदीहरू मौन छन्
वनस्पति मौन छन्
पशु, पङ्खी मौन छन्
कीटपतङ्ग मौन छन्
जून, तारा मौन छन्
आकाश मौन छ
धरती मौन छ
पूरै प्रकृति मौन छ
उनीहरू सबैका मनमा कुरा छन्
सबै एकएक गरेर सुनौं

सुन्न ढिलो गरे
धेरै पहिलेदेखि नै दुख्न थालिसकेको उनीहरूको मन
झन् साह्रो दुख्ला
असह्य भएर मनको बाँध नै टुट्ला
र उनीहरू
अनेकौं आधि र व्याधि बोकेर
विद्रोहमा उत्रलान्
सबैभन्दा पहिले
अब, उनीहरूकै कुरा सुनौं

लामो अवधि कुर्दा पनि
कुनै सुनुवाइ नभएपछि
वाक्क दिक्क भएर मुरमुरिंदै–
पहाडहरू जताततै भत्कन थालेका छन्
भयङ्कर भयङ्कर बाढीका लाठा उजाएर
नदीहरू आक्रमणमा उत्रन थालेका छन्
निराश भएर पानीका मुहानहरू लुक्न थालेका छन्
खोलानालाहरू दुर्गन्धको सराप नसुँघाइ नछाड्न विवश भएका छन्
हिउँले हिमाल छाड्न थालेको छ
आफू मात्र मर्यादामा नबस्ने भन्दै
समुद्रहरू
बिच्कने विन्दुमा पुगेर घुर्क्याउन थालेका छन्
जिजुबाजेले देखेजस्तो उज्यालो जून देख्न
शायद हामीले नै नपाउँला !
बाल्यकालमा हामी आफैँले भेटेको शुद्ध पानी भेट्न
अब, हामीलाई नै गाह्रो पर्ला
मौनहरूका कुरा नसुनिदिएकै कारण हामी
– वासमतीले दिने बास्ना गुमाउँदै छौं
–काउलीले दिने स्वाद गुमाउँदै छौं
त्यसैले त मित्र !
आ–आफ्ना कुरा त धेरै सुनियो, सुनाइयो
अब मौनहरूकै कुरा पहिले सुनौं ।
……….०……..