तिमी मान्छे भनाउदाहरूले मलाई
मेरै देशभित्र सीमाना कोरेर
मेरै बुई चढेको हो
थिचेको हो र
युगौँ उठ्न नसक्ने गरी
मेरो चिहानमाथि नाचेको हो

त्यही बाँसुरी धुनले चिरेको हो
मुरो छाती, सारङ्गी तारहरूले
रेटेको हो, मेरो मुटुमा पुग्ने गरी
किलाहरू ठोकिएको हो

न्यायका किल्लाहरूमा म
सिमानामुनि थिचिएको हो
तिमी मान्छे भनाउदाहरूको भिडमा मलाई
अनाम बनाइएको हो
मेरो जात खोसिएको हो
पहिचान मासिएको हो
चाड खोसिएको हो
धर्म नाशिएको हो

तिमी मान्छे भनाउदाहरूले मेरो माटोमा
मलाई टेक्न नदिएको हो
र मेरो आँगनमै मलाई रातारात
शरणार्थी बनाइएको हो
र फेरि त्यही खण्डहर बस्तीमा पसेर
मेरी चेलीलाई लुटिएको हो
भाउजू विधवा बनाएर
टुहुरो पारिएको हो मेरा सन्तति

तिम्रा सपनाहरूको ढोल पिटेर
मेरो सपना पोलिएको हो
मेरो नाराहरू डकारेर नअघाएपछि
अचार पिसेर चाटेको हो ।