
जबजब सम्बन्धको प्रसङ्ग आउँछ
म खोज्ने गर्दछु
सम्बन्धको परिभाषा
कहिले प्रेमको परिमाण मापन गर्छु
कहिले ती पलहरू जो
क्याफेमा बिताइए
उद्यानमा बिते
हिँडाइमा हराए
त कहिले भिर कन्दराहरूमा
सम्बन्धको व्याख्या खोज्दा
हाँसोको ती गर्जन
रिसको घुराई
तँ र म को लड़ाईं
मादकताले हराएका क्षणहरू
मन, आत्मा र तन मिसिएको पल
म सबैको लेखाजोखा राख्छु
र सम्बन्ध भित्रको गहिराई नाप्छु
जब एकान्तमा म आफैँ विलीन हुन्छु
स्मृतिमा डुब्दै जान्छु
सम्बन्ध भित्रको नाता खोज्छु
धेरै नाता निभाइरहेको म
उनीसँगको सम्बन्धको नाता खोज्छु
सम्बन्धको हिसाब गर्छु
तर कतै पनि भेट्दिनँ
ती हजारौं पृष्ठको शब्दसङ्ग्रहका
पानामा सजिएका अक्षरहरूमा खोज्छु
खोज्दाखोज्दै हराउँछु, थाक्छु
तर अहं कतै फेला पार्दिनँ
कुनै नाता फेला पार्दिनँ
किन नाता बिना पनि यी सम्बन्धहरू
यति आत्मीय छन्
किन सम्झनाले मात्र पनि मन प्रफुल्ल हुन्छ?
शायद नाताभन्दा परको सम्बन्ध
पवित्र प्रेमको सम्बन्ध प्यारो
सुन्दर अनि रमाइलो
सबै बन्धनमुक्त प्यारको सम्बन्ध
ती सयौँ नाताभन्दा हजार गुणा प्रिय ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

