मध्याह्न कटिसक्यो,
सूर्य पश्चिम क्षितिजमा पुगिसक्यो,
अब त कति नै समय बाँकी होला र ?
दिनभरि कसरी बाँचे,
किन बाँचे,
कसको लागि बाँचे,
पत्तै पाइएन,
अब त रात पर्न थालिसक्यो,
रात पर्नुभन्दा अगाडि
मलाई एकछिन भए पनि हाँस्न मन छ
मलाई फेरि बाँच्न मन छ !

मलाई नाच्ने रहर थियो,
कम्मर भाँच्ने रहर थियो,
भोलि भोलि भन्दा भन्दै,
जिन्दगी कति छिटो बितेछ,
अब त नाच्न खोज्दा खुट्टा पनि ठाउँमा पर्दैनन् कि !
तै पनि मलाई नाच्न मन छ,
अँझै पनि कम्मर भाँच्न मन छ,
आजसम्म त अर्काकै इशारामा नाचेँ,
अर्काको खुशीको लागि आफ्नो ढाड भाचेँ,
मलाई एकछिन भए पनि नाच्न मन छ,
मेरो अररो कम्मर भाँच्न मन छ,
मलाई फेरि बाँच्न मन छ !

जीवनमा अनगिन्ती सपना साँचेको थिएँ,
तिनै सपनामा बाँचेको थिएँ,
तर जीवनभर अर्काका सपना साकार पार्न लागेँ,
आफ्ना सपनाहरू टाढा टाढा भागेँ,
अब मलाई आफ्नो सपना साँच्न मन छ
मलाई फेरि बाँच्न मन छ !

जीवन धेरै बाँकी बचेको छैन
तर पनि म थाकी सकेको छैन
अहिलेसम्म अरूले देखाएका टाकुरा चढेँ
अरूले होमेका युद्धमा लडेँ
अब मलाई आफ्नै शिखर चढ्न मन छ
आफ्नै युद्ध लड्न मन छ
आफ्नो क्षमता जाँच्न मन छ,
मलाई फेरि बाँच्न मन छ !

अहिलेसम्म बेहोसीमा बाँचे,
बेखुसीमा हाँसे,
कसैको रहरले बाँचे,
कसैको डरले बाँचे,
कसैको करले पनि बाँचे,
अर्कैको रङ्गमञ्चमा नाचेँ,
अब फेरि बाँच्ने ।