
घमण्डले भरिएका हुन्छन्
अनुहार राम्रा हुनेहरू
काँडा फिँजाएर बस्छे गुलाफ
चिसो बोकेर बस्छ हिमाल
लेक चढेर फुल्छे गुराँस
गहिरिएर बग्छे नदी
टिप्नै हुँदैन
वैलिएर सड्छे सुनाखरी
हेर्नै हुँदैन
ज्योति छिनेर लान्छ प्रभाकर
डुब्नै हुँदैन
स्वास थुनेर मार्छ समुद्र
सुन्दर बगानहरूभित्र
पीडादायक छ मजदूरको जीवन
मनमोहक हिमालका काखमा
दुःखपूर्ण छ बाँच्ने संघर्षको कथा
‘सुन्दरता’
देख्ने आँखा र रमाउने मनभन्दा
अलग अलग छ यो भोग्ने शरीर
अलग–अलग नै छन्
दृश्य र भोग्य संसार
स्वभावले सारै नम्र हुन्छन्
अनुहार नराम्रो हुनेहरू
फोहोरी छ माटो
फोहोरी छ भकारो
तर यिनै फोहोरीले दिइरहेछन्
सबैभन्दा सुन्दर जीवन
गन्धे माटोमै फुल्छन् मनमोहक फूलहरू
दुर्गन्धित भकारोमै फल्छन्
जीवन दिने अन्नबालीहरू
धुस्रे किसान र फुस्रे मजदुरहरू नै हुन्
सुनौलो संसार बनाउने परिश्रमीहरू,
मेहनतीहरू ।
दमक, झापा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
