सम्झना छ पियारी ?
रातो घुम्टो, त्यो पहिलो स्पर्श, अनि ती बात
ती राता चुराले भरिएका, थरथराएका हात
मन्द चित्कार, त्यो मधुर झ्नकार, मनोरम मदहोस रात ?

यति धेरै वर्ष पो बितेछन् है पियारी
तिमीसँगै ब्युँझिएको, त्यो अपूर्व अनौठो पहिलो बिहानी
मन, वदन, झिलमिल सितारा, अनि पोतिएका लाली

मलाई त हिजैजस्तो लाग्छ
ती तिम्रा लजालु चाला, गुलाबी गाला
पारिवारिक भिडमा लजाउँदै, मस्किंदै
सुटुक्क साटिएका भावनाहरू
अनि छ्चल्किएका चालामाला

बिथोलिएको अतृप्त तन मन, अनि आँखाभरि आँशु बोकेर
तिमीले दिएको बिदाइ, मनभरि आवेग, सम्झना र सपना
पोको पारेर, तिमीलाई छाडी विदेशिएको त्यो पहिलो बिछोड्
अस्तिजस्तै लाग्छ

याद छ पियारी ?
ती चिसा, निरश, नरित्तिने रात
लामा मीठा, नसक्किने टेलिफोन बात
अनि ती अटुट विश्वास र विश्वासहरूका ती साथ ?

कस्तो मीठो छ है पियारी
ती क्रीडा, ती पीडा, साना ती घात
ठूलाझैं लाग्ने, ती क्षणिक मात
अनि फेरि ठुस्किंदै, लाडिँदै, लुटुपुटिएर मुस्कुराउँदै
बिताएका अनन्त साथ

सधैं याद राखे है पियारी
बिछोड्का, ती अत्याशिला चिसा रात
माफी दिइएका, ती साना तिना
घात, प्रतिघात, अनि मात
त्यो सुगन्ध, बासना, त्यो पहिलो स्पर्श, ती बात
त्यो हात्, त्यो पहिलो रात ।

अनि अजर अमर अनन्त यो साथ ।