
कस्तो गारो हुने रहेछ
लिसोझैँ टाँस्सिएका आँखा झार्न !
युगौँदेखि सुन्दर नारीको देहमा गाडिएका छन्
फरक फरक निरंकुश आँखाहरू
आँखाको बजारमा-
एक्लै हिँडेकी छे एक सपना बुन्ने स्त्री
एकथरि आँखाले उसको शरीरलाई घुरिरहेछन् एकटक
अर्कोथरि आँखा-
रक्सीकाे नशाले लठ्ठीएझैँ डुबिरहेछन् नशाकै पाेखरीमा
गिद्दका झैँ तेजिला आँखाहरू
प्रत्येक अङ्ग चुसिरहेछन् जुकाले झैँ
उसको छाती
उसको नितम्ब
उसको कम्मर
उसको ओठ
उसकाे आँखा
उसको योनि
उप्काउन खोजिरहेकी छ उसले युगौँदेखि
ती यौनपिपासु आँखा
तर विस्तारै
थाहै नदिई ती आँखाहरूले
कति चाँडै चुसिसके छन् आइमाईको सर्वाङ्ग अस्तित्व
सदियौँदेखि –
दुनियाँका आँखा बोकेर हिँडिरहेकी छ स्त्री
गरिरहेकी छ उप्काउन अनेक प्रयास
तर पनि सकिरहेकी छैन नजरका तिरबाट बच्न
कहिलेसम्म टाँसिएर बस्ने होलान् ती आँखा ?
कसरी उप्केलान् ती आँखा जरैदेखि ?
अहो !
कस्तो गाह्रो पो हुँदोरहेछ
लिसोझैं टाँस्सिका आँखा झार्न !
यसरी नछाेएरै पनि प्रत्येक दिन लुटिइरहेका छ्न छाेरीहरू
यस्ता आँखाहरू जब बजारमा देख्छु सल्बलाइरहेका
लाग्छ आँखाहरू थुतेर गुच्चा खेलिदिउँ ।
****



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

