घाँस चर्दैछन्
दाना खाँदैछन्
पानी पिउँदैछन्
एक हुल, बाल्कोट दरबारमा
अर्को हुल, सानेपा दरबारमा
तेस्रो हुल, पेरिस डाँडामा
उग्राइरहेका छन्
हात्तिछाप घाँसहरू
यी भेडाहरूको निजी गन्तव्य छैन
आदेशको डोरीले घाँटीमा बेरिएको छ

घाँस खानुअघि
सदनमा भ्या भ्या गर्नुअघि
आफ्ना महाराजको इशारालाई हेर्छन्
तिनकै डरले
खोरमै अलिकति छेर्छन्
तुरुक्क पारेर – पुच्छर हल्लाउँदै
पाँच वर्ष डिउटी गर्छन्
विचरा हाम्रा,
माननीयहरू, म्या भ्याहरू
हातमा गदा लिएर
भैंसी चढी
पहिचानको शिकारमा निक्लेका
दलीय श्री ३, तीन महाराजहरू
कत्ति घ्याम्पा, डोल, जर्किन, पोखरी
मानव रगतले तिम्रो तिर्खा मेटिन्छ ?

स्वीकार्छौं हाम्रो पहिचान
हामी तयार छौं
रगतदान वा जीवनदान गर्नलाई
हाम्रै पसिनाले किनेको
सरकारी गोलीबाट मर्नलाई
समयको निर्देशन छ

अरुका लागि लडेका गोर्खाहरू
आफ्ना लागि एक पटक जाग्नु छ
रामप्रसाद राईका चिहानबाट
आगोका लप्काहरू निस्किसकेका छन्
सल्किसकेका छन्
विश्वयुद्धमा अरुका लागि
चट्याङजस्तै चम्किएका
भोजपुरका खुकुरीहरूसँग
आज तिमी
किन जिस्किरहेका छौ ?
ए, तीन महाराजहरू
खोलानालाहरूले
कस्तो पहिचान दियो, तिमीहरूलाई ?
इतिहास र सभ्यता
त्यही कोशीको घाटमा मात्रै देख्यौ ?
के तिमीहरूलाई
गँगटाहरूले स्वास्तिक छाप हानेका हुन् ?
भ्यागुता र माछाहरूको सितनले मक्ख परेका हौ ?
मशानघाटमा
खरानी भैसकेको
महेन्द्रको पिशाचसँग,
के साइनो छ तिम्रो ?

पूर्व राजाको श्रीपेच
बाक्सामा थन्क्याउने
मजदूरहरू यिनै सडकका हुन्
तपाईं श्री ३ हरूको
शक्तिशाली मुकुट फुकाल्न
हामीले तालिम लिइरहनु पर्दैन
हाम्रै छाला तन्काएर
ढोल, च्याब्रुङ, धिमे, डम्फु आदि
धेरै बजायौं
केही दिनअघि पूर्वबाट
आक्रोशको अग्निवर्षा भएको छ
रातो, तातो बादलहरू
बिस्तारै पश्चिमतर्फ बहिरहेका छन्
घनघोर आगोको बर्षातले
कोशी सुकेर, बगरमा परिणत हुँदैछ

बिचरा तपाई
भ्या म्या माननीयहरू
कोशी त जसो तसो पौडेर तर्छौ होला
जन्ताको सप्तकोशी र सप्तगण्डकीहरू
उर्लेको बेला
भ्या म्या गर्दै
हवाईजहाज चढ्छौ कि, पानीजहाज ?
संसारले
तिमीहरूलाई हेरिरहेको हुनेछ ।

सोताङ- ५, फुस्तेल, सोलुखुम्बु,
कोशी प्रदेश, नेपाल