
वसन्तको मलिन सन्ध्यामा
अनन्तकालीन प्रतिक्षाबाट थाकेर
हताश, निराश र कमजोर
भित्तो समाउँदै आइरहेको
त्यो अपरिचित छायालाई
म कसरी स्वागत नगरूँ ?
शरद्को कुनै पट्यारलाग्दो रात्रि
जब संसार बिर्सेर रोइरहेको हुरी
मेरो झ्यालको कुनाबाट
हृदय फुकाउन आउँछ मसँग
मेरो ढोका बजाउँछ, मेरा किताब उडाउँछ
जब चिच्याई-चिच्याई वेदना पोख्छ मसँग
म कसरी त्यसको तिरस्कार गरूँ ?
कसरी बाँधू, मेरा आँखा ?
जसरी दु:खको भेष बदलेर आयो हुरी
जसरी मेरो झ्यालसम्मको हरेक खुड्किलामा
ऊ हावा कम र आँशु बढी भएर आयो,
त्यसैगरी
म कसरी मान्छे रहन सक्छु ?
ठीक त्यही क्षण,
बाँच्ने आशमा शरीर त्यागिरहेका मेरा सपनाहरू
पुनर्जीवन खोज्न थाल्छन्
पतिव्रता हुने प्रयत्नमा अग्निसमाधि लिँदै गरेका मेरा आँखा
मलाई सोध्न थाल्छन्,
“के तेरो सपनामा रङ मात्र पर्छ ?”
त्यो रात्रि,
हुरी र वसन्तसँगै
मेरो अस्तित्व,
पोखिएको सिन्दुरको बट्टा बन्छ
अनि मेरो मस्तिष्क
मलाई भन्न थाल्छ
“बाँच्नु केवल बाँच्नु मात्र होइन !
यदि साँच्चै ज्यूँदो छेस्,
त धारण गर् आफैँलाई
तेरो अस्तित्व पर्खिबसेको छ,
आधा भुइँभरि, आधा बट्टाभित्र ।”
भक्तपुर, नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

