ऊ जन्मियो यो धरतीमा
मनुष्य रूप लिएर
उसका आमाबुबाले
खुसी मनाए लड्डु बाँडे
थाल बजाए, नाचगान गरे
हुर्काए, बढाए

आज त्यो छोरो पढेर
विदेश गयो
कति प्रहर बिते अब
घरमा एक्लै छन् बुढाबुढी
कसले हेर्ने ? कोही छैनन्
दबिएका छन् पीडा
लुकेका छन् आँशु
तुहिएका छन् सपनाहरू

अनायास प्रहरहरु बिते
छिमेकले पनि भन्दैछन्
छोरो छोडेर गयो
उतै घरजम गर्यो

छोराछोरी पायो
गाउँ फर्कन चाहँदैन
अब आउँदैन
सुन्दा पीडा हुन्छ
तर के गर्नु
सत्य यही हो
छोरो गएको सात साल भयो
बाह्र वर्षमा खोलो फर्केर आउँछ
छोरो पनि आउँछ
समय कट्दैछ
अझै पाँच वर्ष छ बाँकी
आस छ मन निरास भएर पनि
जीवन के हो बुझ्दैछ
आज बुढेसकालको सहारा
खोजी गर्दैछन् आमाबुबा
तर कताबाट आउने हो
ठेगान छैन

न सुर छ, न ताल छ
जीवन बेहाल छ
गुण लगाए बैगुणी बन्छन्
नलगाए के के
अबको जीवन नरकपूर्ण छ
मनले भन्दैछ सोच्दैछ
कतै छोरो नआउँदै
मरिएला कि ?
लाश उठाउनेहरूले के भन्लान् ?
उठाउलान् या यत्तिकै छाड्लान्
कुहिन्छ कि जलाइन्छ ?
गाडिन्छ कि बगाइन्छ ?
प्रश्न छ, उत्तर छैन
यो जीवनको कुनै ठेगान छैन
आफन्त भने जति टाढा छन्
पैसो पछाडि भाग्दा छन्
कुसंस्कारमा लाग्दा छन्
कसलाई भनूँ आफ्नो
छन् पराइ मात्र
जीवन भोगाइको यथार्थ यही हो
स्वर्ग यहीँ छ, नर्क पनि यहीँ छ
सत्य यहीँ छ, असत्य पनि यहीँ छ ।

मनरा शिसवा, बथनाहा ९
महोत्तरी