
प्रेम त्यस्तो नदी होस्
जुन सतहका शिला र काँडाहरू चिर्दै
अपार सागरको खोजीमा निरन्तर बगिरहन्छ
यो कुनै मौन ताल होइन
तर प्राचीन भूकम्पले खोलेको
नयाँ धाराको साहस होस्
यो बाँधको किल्लालाई चिर्दै
अझ गहिराइतर्फ खोजिने
अथक उत्साह होस्
यो त्यस्तो संगीत हो
जसले बगरको मौनतालाई चिर्छ
हराएको बीउभित्र
जीवनको रस रोप्छ
यो केवल एउटा धुन होइन
तर प्रत्येक धडकनमा
सपना फुलाउने शक्ति होस्
यो तृषित धर्तीलाई
हरियालीमा परिणत गर्ने
जादूको स्वर होस्
प्रेम त्यस्तो उज्यालो होस्
जसले अन्धकारको जाल चिर्छ
यो सूर्यको पहिलो किरण हो
जसले सारा धर्तीलाई
आफ्नो स्पर्शले जागृत बनाउँछ
यो कुनै क्षणिक भावना होइन
तर युगौंसम्म जीवनलाई
सजीव बनाउने शक्ति हो
यो कुनै सपना होइन
तर वास्तविकताको
मीठो सन्देश हो
प्रेम त्यस्तो नहोस्
जुन केवल च्याटबक्सका
अक्षरहरूमा सीमित होस्
यो सार्वजनिक होस्
जुन हरेक दृष्टिमा गर्व र आत्मविश्वास भरेर
उजागर होस्
यो डरको छायाले थिचिने होइन
तर साहसले भरिएको प्रेरणा हो
प्रेम होस् त्यो
जसले अरूका अगाडि
अझ उज्यालो झल्कियोस्
यो केवल दुई व्यक्तिको सम्बन्ध मात्र होइन
तर समाजको मञ्चमा
स्वाभिमानको रूप होस्
यो कागजमा लुकेको रहस्य होइन
तर खुला आकाशमा लेखिएको
अक्षर होस्
प्रेम कुनै आँधी होइन
तर आँधीपछिको इन्द्रेणी हो
जसले आकाशको उदासीलाई
रङ्गीन बनाउँछ
यो त्यस्तो सङ्घर्ष हो
जसले हराएको बाटो भेट्टाउँछ
यो क्षितिजपारि पुग्ने
पाखुराहरूको शक्ति हो
जसले अन्धकार चिर्दै
उज्यालोको पहिलो किरण भेट्टाउँछ
यो कुनै साँघुरो पिंजरा होइन
जसले स्वतन्त्रतालाई कैद गर्छ
यो खुला आकाश हो
जहाँ सपना चरा बनेर
पखेटा फिजाउँछन्
यो त्यस्तो जङ्गल हो
जसको हरियालीले
धर्तीलाई शीतल बनाउँछ
यो बाँधिएका सपनाहरूको स्वतन्त्रता हो
जहाँ आकाशको परिधि
सपना साँच्ने भण्डार हो
प्रेम त्यस्तो दीप हो
जसले अन्धकारको अँगालोमा
शान्तिको ज्योति फिजाउँछ
यो आगो हो
जसले डरको जरा जलाउँछ
तर मनलाई खरानी बनाउने
विध्वंसकारी ताप होइन
यो त्यस्तो दीपक हो
जसले हजारौं सपना देख्नेहरूको
मार्ग देखाउँछ
यो केवल आशाको ज्योति मात्र होइन
तर विश्वासको आधार हो
प्रेम कुनै प्रतिस्पर्धा होइन
तर आत्मीयताको सजीव गाँठो हो
यो जङ्गलको मीठो गीत हो
जसले मौनतालाई भङ्ग गर्दै
सृष्टिको नवीनता सुनाउँछ
यो कुनै सामर्थ्यको खेल होइन
तर समानताका सुन्दर चरण हो
प्रेम कुनै घमण्ड होइन
जसले अरूलाई विस्थापित गर्छ
यो पवनजस्तो हो
जसले हरेक आगोलाई शीतलता दिन्छ
यो कुनै भारी होइन
तर त्यस्तो साहस हो
जो आँसुको थोपामा
संसारको कथा देखाउँछ
प्रेमले कुनै सीमा नमानोस्
यो नदीजस्तै हो
जसले चट्टानलाई चुमेर
आफ्नो बाटो बनाउँछ
यो पुर्णिमाको जून हो
जो अन्धकारको
सप्तरङ्गी सपना देखाउँछ
यो पहाडको शिखर हो
जसले चुनौतीहरूलाई चुम्दै
आफ्नो मार्ग बनाउँछ
प्रेम त्यस्तो होस्,
जसले दुःखलाई पनि
संगीतको आकार दिन सकोस्
यो काँडाबीच फुलेको फूल हो
जसले आफ्नै सुगन्धमा
संसारलाई भरिदिन्छ
यो कुनै आक्रोश होइन
तर अनिश्चित भविष्यको
शान्त बिन्दु हो
प्रेम जीवनको प्रत्येक रङमा
आशा भर्न सक्ने र
सुगन्धले हृदयका कुनाकुनामा
जीवन दिन सक्ने शक्ति होस्
यो केवल सम्बन्धको मापन होइन
तर सृष्टिको सार हो
त्यसैले,
प्रेम केवल गन्तव्य होइन
तर यात्राको शाश्वत साथी होस्
यो केवल दुःखको पाठ र
खुशीको साथ मात्र होइन
तर जिन्दगीको परिपूर्ण कथा होस्
म त्यो आदर्श प्रेमको प्रतीक्षा गर्छु
जसले हरेक क्षणलाई
मूल्यवान् बनाउँछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
