
ठूलो हुनलाई
हरेक दम्पतिले गर्भमा
सुटुक्क छोरो
बनाउन जान्नुपर्छ
कहीँकतै नभएको
सबैले मानसम्मान गर्ने
कुलच्छिना मोरो
भनाउन जान्नुपर्छ
ठूलो हुनलाई
मुखमा राम–राम
बगलीमा छुरा राख्नुपर्छ
आवश्यकताअनुसार
साम, दाम, दण्ड, भेदका हतियार
पुरा राख्नुपर्छ
ठूलो हुनलाई
जघन्य अपराध गर्दै
सबैको नजरमा
मर्द हुन सक्नुपर्छ
नीति, नियम, संस्कार र सभ्यतालाई
सजिलै सधैँभरि काट्न सक्ने
कर्द हुन सक्नुपर्छ
ठूलो हुनलाई
रोजगारी भन्ने कुरो
नेता अनि कार्यकर्ताको गर्नुपर्छ
आफैँले थुकेको थुक
आफैँले चाट्दै
पटक–पटक मर्नुपर्छ
ठूलो हुनलाई
मौकामा चौका आउँछ भने
अखाद्य वस्तु पनि सबै
घुर्लक्क निल्न सक्नुपर्छ
सात पुस्ता अघि देखिको
नामी सत्रुसँग समेत
लुसुक्क मिल्न सक्नुपर्छ
ठूलो हुनलाई
काम नै नगरी
टन्न पैसा
कमाउन सक्नुपर्छ
अरूका आँशु र चित्कारहरूमा मस्तसँग
रमाउन सक्नुपर्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
