जीवन सजिलो पनि छ, जीवन गाह्रो पनि छ
खान पाएको मिठास छ, भोकै सुतेको पीडा पनि छ
सबै पुगिसकेको अनुभूति छ, अधुरो सपनाको तृष्णा पनि छ
जीवन सजिलो पनि छ, जीवन गाह्रो पनि छ

जीवन हाँसोको रसिलो गीत हो, रोदनको चिसो आँशु पनि छ
खुसीले नाच्ने पलहरू छन्, दुःखले बाँधेको समय पनि छ
शान्तिको मधुरिम छ, बेचैनीको चक्रवात पनि छ
जीवन सजिलो पनि छ, जीवन गाह्रो पनि छ

जीवन फूलको सुगन्ध हो, काँडाको तिखोपन पनि छ
सुखले ओढाएको ओढनी छ, दुःखले च्यापेको चोलो पनि छ
सबै भएको भ्रम छ, केही नभएको सत्य पनि छ
जीवन सजिलो पनि छ, जीवन गाह्रो पनि छ

जीवन रङ्गीन सपनाको क्यानभास हो, ब्ल्याक एण्ड ह्वाइट यथार्थ पनि छ
हलुकै हावाको झोंक्काजस्तो छ, गरुङ्गो पहाडजस्तो पनि छ
जीवन्त उत्सव छ, मरणको शान्ति पनि छ
जीवन सजिलो पनि छ, जीवन गाह्रो पनि छ।