
यो नयाँ वर्षको बिहानी
सुनौलो किरणले
धरतीको अङ्गालोमा
नयाँ रङ भर्दैछ
आकाशले
खुला क्यानभास बनेर
नयाँ सपनाका चित्रहरू कोर्दैछ
पहाडले गर्वका धर्ती ओढेर
हिउँको मुकुटमा
घामको सुनको घेरो सजाएको छ
हाम्रो इतिहास
गुम्बाका घण्टीका झङ्कारमा
मन्दिरका गजुरको सुनौलो चमकमा
ढाका टोपीको सौन्दर्यमा जिउँदो छ
पुर्खाको पसिनाले सिँचित
यो माटो
जसको प्रत्येक कणमा
समर्पणको सुगन्ध
र मेहनतको अमर गाथा
बाँचिरहेको छ
हाम्रो पहिचान
यो पुर्खाको रगत
र पसिनाको उत्सव हो
जसले हाम्रो जीवनलाई
रङ्गीन मोतीको
माला बनाएको छ
कलमका तीव्र घातहरूले
समाजको अन्धकारमा उज्यालो छर्नेछ
हाम्रो संस्कृति
हरेक पङ्क्तिले गाएको गीत हो
र हरेक अक्षरले लेखेको प्रेरणा
नयाँ वर्षले हामीलाई
सिर्जनाको नयाँ क्यानभास देओस्
हाम्रो कर्म
हाम्रो स्वाभिमान
र हाम्रो देशप्रेमको अग्निले
नेपालको भविष्यलाई
सुनौला सपना देओस्
स्वदेश होस् या विदेश
हाम्रो माटोको सुगन्ध
हाम्रो शिरको शान हो
यसै गन्धले जोडेको छ हाम्रो हृदय
र यसैले बनाएको छ हाम्रो आत्मा
मनले खोजेको छ
राष्ट्रप्रेमको अमर दीप
र पहिचानको उज्यालो ।
धुनिबेसी, धादिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

