मलाई थाहा छ छोरी,
छोपिएर बसेका समयका विम्बहरू
आँखाले नियालेर
हृदयलले छामेर
सम्झनाको बाटो हुँदै
मस्तिष्कमा सजाउन
अनि सुकोमल आत्माले
घरी-घरी तिनलाई सुमसुम्याउन
तिमीले जान्नु पर्छ
त्यही भएर त मैले तिमीलाई
यहाँसम्म ल्याउने जमर्को गरेको हूँ ।

आऊ यता र मलाई पछ्याऊ
चिनाउने छु हरेक
देखाउने छु सबै
हेरेर दृश्यहरू
बल्झिनेछन् यादहरू
पाएर स्पर्श
खुलस्त हुनेछ विगत
पछ्याएर पदचापहरू
पोखिनेछन् अनुभूतिहरू

साँघुरो तर विशालता अँटेको परिवेश
सुनसान तर झङ्कृत बनाउने परिवेष्ठन
नोष्टाल्जिक बनेर म कतै अल्मलिएँ भने
सान्त्वनाका भावले नियाल्न नबिर्सनु ल !
उकुसमुकुसहरू कतै मडारिन सक्छन्
छटपटीहरू त्यसै असरल्ल बन्न सक्छन्
समयको गर्तमा पुरिएका रहस्यहरू
अनायास बौरिदिन पनि सक्छन्

सम्झियौ कि बिर्सियौ कुन्नी
हेरेर त्यो पुरानो श्यमश्वेत ठूलो फोटो
जिज्ञासु लयमा तिमीले सोध्ने बालसुलभ सवाल
तगत्तै मेरो अनुहारमा छाउने मौनता
लगातारको ढिपी र
बारम्बार दोहोरिरहने तिम्रो जिद्दीपनालाई
टार्ने असफल बहाना रोजेर
हतारिंदै टिभी खोलिदिएर
ध्यान मोड्न देखाएको मुमिन आमाको कार्टुन
अनि म भने भान्साकोठामा छिरेर
आफैँसँग अलमलिएको त्यो विकल समय

तिमीलाई विश्वास नलाग्न सक्छ
यी रुखजस्तै लाग्ने बलिया खाँबाहरू
त्यही काँधले बोकेका हुन्
खाँबा अड्याउने जग
तिनै हातले खनेका हुन्
खै त्यो बलियो काँध कसरी पो ढल्यो
जग खन्ने ती परिश्रमी हात कसरी पो लुलो भयो
देख्दैछौ नि घर थामिरहेका बिम
तिनका आकारलाई पनि नजिकबाट ठम्याऊ
लहर मिलेर तेर्सिएका कडी
त्यसमाथि बसेका थरिथरि पनि पर्गेल
नापी-नापी ताछ्ने हात तिनै हुन्
मिलाई-मिलाई राख्ने हात तिनै हुन्
ड्रइङ र डिजाइनिङको एकल माथ त्यही हो

ऊ त्यहाँ रहेछ
तिमी हुर्किएको कोक्रो
मक्किसकेर बनेछ पुरानो र थोत्रो
त्यसको चोया, शिल्पी र ढाँचा तिनै खस्रा हात हुन्
अलिपर्तिरको बुढो गोरुगाडा अनि त्यसका चक्का
चक्का अडिने खँदिलो मादल, छेवैको तख्ता
डाँडा, भाटा र टाटी
हतासो, मुङ्ग्रो र पाटी
सबै सबैको सर्जक स्वयम् उहाँको ब्रह्म हो

मैले बिर्सेको छैन छोरी
टुकुटुकु हिँडेर आँगनसम्म जाने उमेरमा
तिमीलाई पिङ खूब मनपर्थ्यो
ऊ त्यहाँ झुण्याएको लठारो
उहाँ आफैँले बाटेको हो
सङ्गै सिउरिएको काम्रो
जतन गरी त्यहाँ राखेको हो
तिमीलाई बुबु दिने गाई बाँध्ने किलो
पेटारे खसीले घाँस खाने टाट्नु
कथुरे र बिजुलेलाई नार्ने जुवा
अनौसहितको हलो
हरिस अड्याउने हल्लुण
सबै-सबैको मिस्त्री उहाँ आफैँ हो

पोया पार्ने साँचो
दाम्लो र त्यसको बट्न्यौटो
अन्न थन्क्याउने भकारी
बीउ जोगाउने नेठु
मुसा पासो पार्ने घोद्र्याके
झरी छेल्ने घुम
घाँस ओसार्ने डोको
माटो बोक्ने ज्याँख्ला
बारी खन्ने कोदालो र
आली लगाउने फरुवाको बिंड
जोतारो, मुखारी, टाँडमा उक्लने लिस्नु
उहाँ आफैँले खिपी-खिपी बनाएका हुन्

यो घरको छानामा
कसजस्तो लाग्ने केही देखियो होला
खिया भन्न सक्छन् नबुझ्नेहरूले
लामो अन्तरालदेखि
साह्रा तर मायालु हातको स्पर्श नपाएर
सुँकसुँकाएर घाम सहनुपर्दा
निथ्रुक्क झरी झेल्नुपर्दा
कच्पल्टिएर जमेका कचेरा मात्र हुन् ती
नपत्याए बिहान हेर्नू
वियोगका पीरा आँसु
तप-तप गर्दै
बलेंसीमा झर्दै हुनेछन्

रातको पट्यारलाग्दो जाग्राम बसेर
अनिँदोमै खुल्ने बिहान हेर्नु
अग्लो टुङका गुँडबाट
चिहाएर परेवाहरू
चारो कुरिरहेका हुनेछन्
बाटो कुरेर राते कुकुर
निस्ताइरहेको भेटिनेछ
संगैको बाँसघारी पनि
उदासीमै मुर्झाइरहेको देखिनेछ

यो गुलजार आँगन अहिले शून्य छ
उहाँ पनि शून्यतामै बिलाउनु भयो
सबैको अन्तिम यात्रा
शायद शून्यतामै पुरेर टुङ्गिने होला
एउटा यस्तो समय पनि थियो यहाँ
उहाँ हुनुहुन्थ्यो र हामी थियौँ
अहिले उहाँ हुनुहुन्न र हामी पनि छैनौँ
समयको कठोर मोडमा पुगेर
हामी फुट्यौं र टुक्रा टुक्रामा परिणत भयौं
छरिएका तिनै टुक्रामध्येको एउटा म हो
अहिले यहाँ हामी सग्लो भेटिँदैन
भेटिनेछ केवल त्यसको खण्डहर
सादृश्यमा त अहिले “म” छु
म को छाया बनेर अर्को “तिमी” ।

सूर्यविनायक-५, भक्तपुर