
आकर्षक साइन बोर्ड टागेर
थापेका छन व्यापारीले
थरीथरीका पसल
र, बिक्रीमा राखेका छन
अलग अलग मूल्यका
रंगीचङ्गी सपना
कोरिया र मलेसियाका
युरोप, अस्ट्रेलिया र अमेरिकाका
खाडी र जापानका ।
अनि चहारेर पसल पसल
गरिरहेछन मोलमोलाई
देशको कुशासनले लखेटेका
एक हूल युवाहरू
तुलना गर्दै
बाबुबाजेको सम्पत्ति
केही गरा खेत
वा केही सुर्का बारीको मूल्य
र त्यसले साट्न सकिने
सोकेसमा सजाइएका सपनाहरू ।
वस्तु जे बिक्री भए पनि
बजारले लुट्ने
आखिर उपभोक्तालाई न हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
