मेरो प्रिय घाम
धेरै समय पछिको पर्खाइमा
खुशीले लुटपुटिएर
जब तिमी आयौ
मेरो मझेरीमा

तिम्रो काखमा
मस्त म निदाइरहें
तिम्रो आगमनले
म रोमाञ्चित बनिरहें
संगीतको मीठो धुन
दिनभर गुन्जिरह्यो
मनका हर्ष र बिस्मातका गुनासो
साटासाट गरिरह्यौ
रोमाञ्चित शरीरका अङ्ग अङ्ग
तिम्रा कोमल स्पर्शले सुमसुम्याइरह्यौ

समय न हो घर्किजान्छ
बादल न हो तिम्रो बाटो छेकिदिन्छ
बर्षात न हो झरी पारिदिन्छ
अनेकौँ कठिन बाटोबाट पनि
मेरो मन छाम्न आइदिन्छौ

ए घाम
मेरो प्यारो घाम
बिन्ती छ
मेरो मझेरीमा
दिनभर मनका कुरा साट्न
हरेक दिन
यसरी नै आइदेऊ है !!

००००० ०००००००

भर्जिनिया, अमेरिका