यसपालि पोखरा पुग्दा
हिउँ बिनाको माछापुच्छ्रे देख्दा
मनमा कहाली उठ्यो
३२ सालमा पोखरा आउँदा
मदमस्त भएर रमाउँदा
हिउँले ढाकेको
मदान्त जवानीले डाकेको
पहिलो नजर मै लभ परेको
मायालु माछापुच्छ्रे आज यस्तो
मेरो मनले मानेन
यो कसरी हुन सक्छ र यस्तो
नजिक गएर हेर्ने निधो गरें
मित्र मेजनको मेजबानीमा धम्पुस पुगें
माछापुच्छ्रेसँग आँखा जुध्यो
किंकर्तब्यविमूढ भयौं दुवै

बोले माछापुच्छ्रे सुस्तरी
म त यतै छु
म यस्तै छु
सारा संसार घुमेर तिमी पो
बुढौती लिएर मतिर फर्कियौ
सुनेर कुरा माछापुच्छ्रेको
घाटीमा मेरो काँढा अडकियो
छातीको मेरो छाला तन्कियो
मित्र मेजनले कैद गरे ब्यथा मेरो
यही नै हो बिर्सी नसक्नु कथा मेरो ।