
कर्ण गुरूङ
ए मेरा प्यारा छोराहरू हो,
सुन !
तिमीहरू जन्मिएको बेला
म खुसीले भरिएकी थिएँ
गौरवले अग्लिएकी थिएँ
म कल्पना गर्थेँ त्यसबेला-
एकदिन तिमीहरू ठूला हुनेछौ
पढेर विद्वान हुनेछौ
प्रगति गर्नेछौ, उन्नति गर्नेछौ
राम्रो काम गरेर
संसारमा सुवास छर्नेछौ
उद्योग, व्यापार गर्नेछौ
र शक्ति बन्नेछौ मेरो
एक बनेर सबै भाइ
नयाँ इतिहास रच्नेछौ
सफलताको
र रमाउनेछु म
गौरव गर्नेछु मेरा छोराहरूप्रति
तर
आज अवस्था उल्टो भएको छ
भत्किएको छ मेरो सपना
पढ्यौ पनि, बढ्यौ पनि, सक्षम पनि बन्यौ
तर
सुन्दैछु तिमीहरू तानातान गर्दैछौ रे
तान्नु पर्छ छोरा हो
तानातान गर्नुपर्छ
तर खुट्टा होइन
हात तान्नु पर्छ,
ठेल्नु पर्छ
तर पछाडि होइन अगाडि ठेल्नु पर्छ
म सुन्दैछु
सम्पति कमाउनका लागि
नैतिकता गुमाउँदैछौ रे
आफू जित्नका लागि
अर्कोलाई लडाउँदैछौ रे
प्रगतिको यात्रा गर्नका लागि
सबैजना एउटै जुत्तामा खुट्टा हाल्दैछौ रे
आफू सही देखिनका लागि
अर्कोलाई गलत सावित गर्न लागेका छौ रे
यति धेरै सक्षम छोराहरू देखेर
आज म आफैँ असक्षम भएको महसुस गरिरहेकी छु
म शक्तिवान भएर पनि शक्तिहीन महसुस गरिरहेकी छु
मेरा प्यारा छोराहरू !
तिमीहरू जो हार्दा पनि म हार्नेछु
तिमीहरू जसलाई चोट लाग्दा पनि मलाई दुख्छ
आज मेरा सबै आशाहरू अभिशाप बनेका छन्
ए छोराहरू !
भो अब मलाई शक्ति चाहिन्न
कुनै सुवास चाहिन्न
अब मेरो केवल एउटै चाहना छ
तिमीहरू एक भएको हेर्ने चाहना
एक अर्काको खुट्टा होइन हात तानेको हेर्ने चाहना छ
विपरीत भएको होइन
मलाई तिमीहरू हाँसेर बाँचेको हेर्ने मन छ
एउटाको दु:खमा अर्को रमाउने होइन
साझा खुसीमा रमाएको हेर्ने मन छ
हो छोराहरू !
मलाई
तिमीहरू हाँसेर बाँचेको हेर्ने मन छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

