विरक्त उराठलाग्दा अनुहारहरू,
तिक्तताले भरिपूर्ण मुस्कानहरु,
पिरैपिरले सजिएका छन् गगनचुम्बी सपनाहरू
तोडिएका छन्,
आडम्बरका खोलहरु,
भौतिकवादी दम्भ शक्तिका प्रवृत्तिहरु,
र थपिएका छन् गरिबीका दु:खका घाउहरु
हे महाजनहरु हो,
सक्यौ होला जनमानसमा राज गर्न,
सक्यौ होला प्रकृतिसँगै जिउन,
घनिभूत प्रकृतिको काखमा रमाउन,
र, सक्यौ होला प्रकृतिमाथि विजय गर्न पनि
समुद्रको गहिराई पत्ता लगायौ,
सूर्य चन्द्रमाको दुरी मापन गर्यौ,
ग्रहहरुमा बास बस्ने समेत सोच्यौ,
ज्ञान र विज्ञानको शक्तिले बनायौ,
यानहरु, रोबोटहरु, आणविकहरु,
विज्ञानको चमत्कार देखायौ,
र, वशमा राखेर जगतलाई हैकम चलायौ
आज सिद्ध भो त्यो गौरव भनौं या
त्यो अहम, आखिर केका लागि ?
समय चलायमान छ, वेगवान छ,
र बलवान् पनि छ
गतिशील समयसँगै विश्व वशमा राख्छु भन्ने
सामर्थ्य र सद्बुद्दिको दोहन पक्कै भएको हो त?
विश्वभरि अछुतो छैनन् देशहरू,
रोई-कराई संकटग्रस्त भई लडेका छन् जनहरु,
कैयौं योजनाहरुको सफलता छेदन भएको छ,
सचेत बनेर गुप्तबास बस्नु नै उत्तम औषधी
अन्वेषण भयो आखिर- महामारी कोरोनाको
संन्त्रासका लाभाहरु उम्लिरहेका छन् प्रत्येक
मनहरुमा, मुटुहरुमा, आँखाभरि जताततै छरपस्ट
अन्तरआत्माको स्पन्दनको चित्कार कसले पो सुन्दछ र !
अब, एकान्तबासमा बसेर आफूलाई भाग्यशाली जन
प्रमाणित गर्नुछ,
उद्देलित मन मस्तिष्कलाई साम्य पार्नु छ,
विश्व महामारी कोरोनाको डटेर सामना गर्नुछ,
र, सुनौला भविष्यका सीमारेखा कोर्नुछ ।

साँफेबगर न.पा.-१०, घुघुरकोट, अछाम