
हामी विश्वस्त भयौँ
कि, बुख्याँचाहरूले
हामीले खाई नखाई रोपेको पसिना
लहलहाएको देखेर
लुटी खान पल्केका
ब्वाँसा, दुम्सी र गोहोरासँग लडेर
हाम्रो बालीनाली बचाउँछन्,
त्यो हाम्रो भ्रममात्र थियो
बुख्याँचाका
खुट्टा हुन्छन् तर
विकासका निम्ति
समृद्धिका निम्ति
एक डेग चाल्न सक्दैनन्
स्थिर रहन्छन्
धवलागिरिझैँ, माछापुच्छ्रेझैँ, सगरमाथाझैँ
बुख्याँचाका
आँखा हुन्छन् तर
गान्धारी बन्छन्
भीष्म पितामह बन्छन्
र धृतराष्ट्र बन्छन्
द्रौपदीको चीर हरण हुँदा
बालकोनीबाट ट्वाल्ल हेरेझैँ
जनता वपदग्रस्त हुँदा
राम हेर्छन्
हात हुन्छन् तर
निरीह र निर्बलप्रति
कंशतुल्य हठवादीले
वज्रतुल्य प्रहार गर्दा
रक्षाको निम्ति फिटिक्कै उठ्दैनन्
दही जमाएर बस्छन्
कान हुन्छन्
बुख्याँचाका तर
मिलमा तोरी पिसिएझैँ
जनता अन्यायको जाँतोमा पिसिँदा
उत्पन्न कारुणिक चीत्कार
रोदन, क्रन्दन
फिटिक्क सुन्दैनन्
मुख भए पनि
अन्यायका विपक्षमा
एक आखर निकाल्दैनन्
बुख्याँचाहरू
केवल ठडिनका लागि हुन्
बुख्याँचाहरू
केवल सजिनका लागि हुन्
बुख्याँचाहरू
केवल उभिनका लागि मात्र हुन्
बुख्याँचाहरूबाट
सुरक्षाको
समुन्नतिको
विवेकको
अपेक्षा गर्नु
हिमबाट उष्णता
अग्निबाट शीतलता
मनबाट स्थिरता
अपेक्षा गरेजस्तै हो ।
सुनवल – १२, नवलपरासी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

