सुनौलो किरणको आगमनबाट
बिहानी, मध्यदिनमा हिँड्दाहिँड्दै
रातले रोएको आँशु पुछ्न नपाउँदै
मेरो श्रमको पसिना
मलायाको तातो बालुवामा
बिलाएको छ शीत बनेर

हिउँद लागेपछि गौंथली
मेरो कोठाको दलिनमा गुँण बनाउँछे
हराएको पोइ खोजेर ल्याउँछे
भोकाएका बचेरालाई चारो खुवाउँछे
साह्रै लोभलाग्दो छ
उसको संसारिक घरजम
र, कल्पनाको सुन्दर सिर्जना गर्न
म बालुवाको रातो सिन्दुर पैंचो माग्दैछु
दाह्रीवाल मुदिरसँग मेरी नवदुलहीको लागि
जीवनभरको वास्तविक सपना
लिलामीमा राखेर
पाखुराको सामर्थलाई

सुखको आशमा फेरेको थिएँ लामो स्वास
चुरोटको धुवाँसँगै उड्यो
नागबेली उकालोमा र ठोक्कियो पहाडमा
बिलाउँदै गए सपनाहरू
त्यही मेरो अपुरो सपनाले चलेको रहेछ देश
मेरो रगत र पसिना
शीत, धुलो, धुँवा र बालुवा
सिन्दुर, सपना र लिलामी पो रहेछ रेमिट्यान्स ।