म रोएँ,
असाध्यै रोएँ
मुख छोपेर रोएँ
कुनामा लुकेर रोएँ
नुनिलो आँशु नसुकुञ्जेल रोएँ
मनको आहत नमेटिञ्जेल रोएँ

कुनैबेला मनको बारी र कान्लाभरि
मीठामीठा सपनाहरू रोप्थें
विश्वास र प्रेमले मलजल गर्थें
सुनौला रहरहरू फुलाउँथें
चम्किल्ला खुशीहरू सजाउँथें
तर एक दिन, के भो के भो !
तेस्तै भो, जे नहुनु थियो
त्यही भो, जीवन दुख्न शुरू भो
सबका सब लछारिए, पछारिए,
लतारिए र पुरिए
नामोनिशाना मेटिए;
म रोएँ
खुब रोएँ

त्यसपछि
कहिले तिमीलाई सम्झेर रोएँ
कहिले बिर्सेर रोएँ
कहिले तिमीले सम्झिदा रोएँ
कहिले तिमीले बिर्सिंदा दुखेर रोएँ
कहिले तिमीलाई बुझेर रोएँ
कहिले बुझ्न नसकेर रोएँ
कहिले तिमीलाई सुनेर रोएँ
कहिले सुन्न नसकेर रोएँ
म रोएँ
निकै रोएँ

विगत सम्झें
पीडा छातिभित्र चरक्क चर्केर रोएँ
बिर्सन नसकेको घाउ दुखेर रोएँ
लथालिङ भएका भरोसाहरू देखेर रोएँ
भविष्य सम्झें
उजाड मनको दुर्दशा भोगेर रोएँ
म रोएँ
असाध्यै रोएँ

त्यस्तै भो, कसरी हो
धेरै बजारिंदा बजारिंदा म पत्थर भ​एँ
धेरै जल्दाजल्दा म कोइला भ​एँ
धेरै बग्दाबग्दा म समुद्र भएँ
धेरै दुख्दादुख्दा म काँडा भएँ

आज
सबै थरिका प्रहार खप्दा खप्दा दरिएर
म एउटा चट्टान उभिएको छु
रहर र सपनाहरू बन्द कोठामा थुनेर
म खुब स्वत्रन्त्र भ​एकी छु
ओठहरू हाँसून् वा नहाँसून्; मतलब भ​एन
तर म रुन्न
तिमीले जे जे गरे पनि
तिमीले जे जे भने पनि
तिमीले जे जे बुझे पनि
तिमीले केही नबुझे पनि;
अब म गल्दिन,
अब म बल्दिन,
अब म बग्दिन,
अब म दुख्दिन,
सबैभन्दा धेरै, अब म रुन्न
अहँ रुँदै रुन्न ।