बिहानीको पहिलो झुल्कोमा
जाग्छ मेरो मन गौरीशंकरतिर
भीरपाखा, वनजंगलको बाटो हिँड्दा पनि
मन, आँखा घुम्छ तिनै शिखरतिर
कहिले मौन भएर हेर्छु,
कहिले श्रद्धाले निहुरिन्छु

गौरीशंकर, तिमी हिमाल मात्र होइनौ
तिमी हाम्रो शान, हाम्रो पहिचान
दोलखाको गौरव मात्र होइनौ
प्रत्येक नेपालीको शिर, देशकै शिर हौ

तर, आज किन छायामा छौ ?
किन तिम्रा चुलीमा हिउँ पातलो छ ?
किन तिम्रा आँखाहरू थाकेका जस्ता छन् ?
किन तिम्रा ओठ सुक्दैछन् ?

जलवायु परिवर्तन हो कि
हाम्रो लापरवाहीको निशानी ?
तिमी मौन छौ, तर थकित देखिन्छौ
तिम्रा चट्टान बोल्न खोज्छन्
तर कसैले सुन्दैन्

गौरीशंकर, तिम्रो पीडा हाम्रो हो
तिमीलाई बचाउन नसके
आफ्नै अस्तित्व हराउँछ
तर म गर्व गर्छु
जत्ति थलिए पनि तिमी उभिन सक्छौ

आऊ, अब उठौं हामी सबै
हिउँको मुस्कान फर्काउन
तिम्रा पाइलाको गर्व फिर्ता ल्याउन
गौरीशंकर, तिमी कहिल्यै झुक्दैनौ
हामी तिम्रो शिर कहिल्यै झुक्न दिँदैनौं
जत्ति थलिए पनि तिमी उभिन सक्छौ ।