वर्षौंवर्ष ठिङ्ग उभिँदा-उभिँदै
थाकेर कोल्टे परेको घरको थोत्रो ढोकाबाट
अबदेखि कहिलै नपस्नु भित्र
जहाँ म वर्षौं पहिले
रित्तिएको यो भारी सिउँदो बोकी
पर्खिरहेकी छु कसैको आगमन ।

म, पिठ्युँभरि क्रान्ति बोकेर
वर्षौंसम्म हिँडिरहेँ अन्धकार जङ्गलभित्र
र, खोजिरहेँ समानताको रङ्गीन अस्तित्वलाई
जहाँ मैले आफ्नै सिउँदोको रातो रङले
रक्तिम बनाएकी थिएँ तिम्रो क्रान्तिलाई
र, आफू आजीवन रङ्गहीन बनेकी थिएँ ।
त्यसैले नआऊ अब
क्रान्तिका धुन बजाउँदै मेरो समीप
जहाँ म वर्षौं पहिले
गुनगुनाउँदा गुनगुनाउँदै रोकिएका
जीवनका अर्धकम्पित स्वरहरू लिई
पर्खिरहेकी छु आफ्नै मरणको शंखनादलाई ।

नआऊ कोही
शोकको गीत कोर्न
छाडिदेऊ अब
मानवताको थोत्रो ढोङ देखाउन
अनि बन्द गरिदेऊ
वियोगान्त कहानी लेख्न
किनकि मलाई अनुभूत गर्न छैन
कसैको आकारहीन प्रेमलाई ।

बरु कोही आऊ अनि रङ्गाइदेऊ
मेरो सिउँदोलाई,
अनि मेटाइदेऊ त्यो निरर्थक क्रान्तिको रातो रङलाई
र, उठ्न नदेऊ खाली सिउँदोमाथि
ती कुटिल प्रश्नहरूलाई
र, तत्क्षण मेटाइदेऊ
म हुनुको औचित्य सदाका लागि ।

र, यदि ती यौन पिपासुका हत्केलाहरूले
मेरो वक्षस्थललाई निचोर्दानिचोर्दै
म मरेँ भने,
बिन्ती तिनीहरुको समाधिमाथि
मेरो चिता सजाइदिनू ।