
१. लाली गुराँस
न महँगो व्यवस्थिक बगैँचा
न पानी लगाइदिने माली
र पनि त ऊ
त्यो चट्टानमा, भिरपाखामा
बिना गुनासो, फुलिदिन्छ धपक्क
दूर बनाउँदै गमलाको फूलको सुन्दरता
फिक्का बनाउँदै फूलका महँगा बगैंचा
त्यही सस्तो लाली गुराँस
जो सस्तोमा पाइने बहुमुल्य फूल
यदि फुल्नु नै छ त
लाली गुराँसजस्तै फुल्नु रहेछ
चट्टानमा, पहरामा, अप्ठ्यारोमा
सस्तो फूल बनेर
जो सबैलाई मन परोस्
बिनामूल्य, बिनाशुल्क
जो सबैलाई आफ्नै महसुस होस् ।
२. शुभकामना
तिमी गुलाबजस्तै सुन्दर छैनौ
न त छ मयूरको जस्तै सुन्दर प्वाँख
छैन कोइलीको जस्तै मधुर बोली
न त छ डाँफे मुनालको जस्तो नृत्य
तर
तिमी त तिमीजस्तै सुन्दर छौ
तिम्रो तिम्रै जस्तो मिठास बोली छ
तिमी, तिमीजस्तै सुन्दर छौ
बस्, सृष्टिमा तिमी मात्रै छौ तिमीजस्तो,
र
तिमी अरुजस्तै बनेको दिन,
तिमीले एउटा तिमी गुमाउने रहेछौ
जो सृष्टिमा एक मात्र तिमी छौ
यो सृष्टिको एक मात्र तिमी,
त्यसैले तिमी सधैँ तिमी नै बनिरहनु।
३. पढ, मूर्ख विद्वान
मैले धेरै पढे
र मसँग
विश्वविद्यालयको प्रमाणपत्र छ
शायद म विद्वान भएँ
अब मलाई मेरो बुवाआमा अनपढ लाग्छ
मेरो पुर्खाको संस्कार अन्धविश्वास लाग्छ
मेरो समाजका मान्छेहरू कम्जोर लाग्छ
शायद मलाई म विद्वान लाग्छ
अब मसँग मेरो पुर्खाहरू छैनन्
मेरो पुर्खाको भाषा संस्कृति छैनन्
मेरो पुर्खाको अस्तित्व छैन
र म पनि अस्तित्वविहीन छु
अब ब्रह्माण्डमा मेरो पुर्खाको इतिहास
मेरो पुर्खाको भाषा, संस्कृति अनि
मेरो पुर्खाको अस्तित्व भेटिने छैन
र मेरो पनि अस्तित्व लेखिने छैन
म त्यही एउटा पटमूर्ख विद्वान हुँ
जसले हिटलरको शैलीमा
आफ्नै पुर्खाको अस्तित्वमाथि
आक्रमण गरेर
तेस्रो विश्वयुद्ध जितेको घोषणा गरेँ
हो, त्यसैले म पटमूर्ख विद्वान हुँ
जसले
आफ्नै पुर्खाको अस्तित्वको साम्राज्यमा
साँस्कृतिक एटम बम हानेर
आफ्नै पुर्खाको अस्तित्वलाई ध्वस्त पारिदिएँ
मैले धेरै पढेँ
र मसँग
विद्यालयको प्रमाणपत्र छ
शायद म विद्वान भएँ ।
तिलक बाहिङ राई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

