
मूल असमिया पर्याकविता: प्रकल्प रञ्जन भागवती
अनुवाद: डा देवेन सापकोटा
उनी भुइँ मान्छे –
भूमिलाई अँठ्याई
आकाश ताक्दै
शाखा र पात फैल्याउँदै
उनलाई रुख बन्ने मन।
चराको चुच्चोले रुखका बीज फैलाउँदै
उनले फिँजाएका थिए जङ्गल,
सबैका अगोचरमा उनले
धानेका थिए वृक्षको जीवन,
हरियाली, केवल हरियाली,
सूर्यको प्रकाशले मेटाउँथे भोक।
उनी बुढो भएर मर्ने कामना गर्थे
चाहन्थे आयु पुगेपछि जराको साथमै उखेलिन-
शाखा र पातहरू हुने थिए कुनै बाँझो माटालाई मल,
जिउखण्ड गुडुल्किँदै, कुनै खोल्साको साँघु।
आयु पुग्ने अघि नै-
कुनै पात झर्दाको भन्दा झिनो शब्दका साथ
प्रस्थान भयो उनको ।
‘कति प्रकाश खर्च भयो’ नजानिकनै उनी गए
सबैले भने, एक असल मानिस गए।
अखबारले लेखे, ‘एक महीरुहको महाप्रयाण भयो।’
रुखहरूले केवल गफ गरे आफैँ बिच -‘उनले रुखको जीवन पाए’
उनले रुखको जीवन पाए ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
