भरपेट खानु हो वा मलमलले शरीर ढाक्नु
वा हो यथेष्ट आज भए’नि भोलिलाई साँच्नु

भोगैश्वर्य सुखसयल सबै आफू र आफ्नालाई
अथवा क्लेश प्रतिकूल सबथोक पराइलाई

हुँदो हो त कतै यसको किनबेच हुने बजार
लाम लाग्दा होलान् लिन बुझाई हजारौँ हजार

छ दुर्लभ साथमा धनकै भण्डार रहे पनि
जस्तै जालझेल अघोर बठ्याइँ गरे पनि

पाइन्न कहिल्यै जतिसुकै गरेर रोइकराइ
हेरौं बरू एक आर्तको मुहार उज्यालो बनाई

चिताए सधैँ अरूको भलाई शुभकामना
हुँदा समेत असाध्य दु:ख सागरको सामना

जो गर्छ व्यवहार सबैलाई सम्झिएर आफ्नो
नभईकन कतै कहिल्यै कसैसँग विरानो

सर्वत्र भानुप्रकाश झैँ सम बिना भेदभाव
बहँदो शितल पवन हेर छ कसको प्रभाव

नापौँ कसरी यसलाई नाप्ने तराजु कहाँ छ
प्रसन्न चित्त सकलको हेर्ने धोको जहाँ छ

हँसाउने अरूलाई छ साँचो यत्न निरन्तर
द्वेषबीच पनि सद्भाव फैलाउँछ जो बराबर

चाहिन्न धेरै परिश्रम नचाहिने ज्यादा वैभव
देख्नसके अरूभित्र आफू यतिमै छ त्यो सम्भव

आफूभित्रको आफूलाई चिन्न बाँकी भएछ
त्यो शेष नै आखिर मुहान खुशीको रहेछ ।

कोटेश्वर, काठमाडौं