१) कतिले आत्महत्या गरिसक्थे !

– विजय मल्ल

कतिले आत्महत्या गरिसक्थे !
बगर-बगरमा, गल्ली गल्लीमा,
रानीपोखरीको नील जलमा,
हरेक देखिने दलिनहरूमा
कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे !
कतिले आत्महत्या गरिसक्थे !

दुःखले पोलेको मुटु लिएर
पीडाले सढेको शरीर लिएर
अन्यायको तातो झीरले डामेको अन्धो आँखा लिएर
कतिले नमर्दै आफूलाई मारिसक्थे !
कतिले आत्महत्या गरिसक्थे !
जिउनु छ भनेर नै कोही जिउँदैनन् यहाँ,
मृत्युसँग तर्सेर नै कोही बाँच्दैनन् यहाँ ।

यहाँ कतैकतै पाइन्छ-
आँसुलाई पुछिदिने,
स्नेहको मीठो स्वरले टुटेको दिललाई साँचिदिने
मायालु मुलायम हात, मायालु मुलायम आँखा।
त्यसैले पो-
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो,
टुटेको दिलको, फुटेको मुटुको,
कसिङ्गरैकसिङ्गरको, करङैकरङको थुप्रोझैँ ।
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो !
मसान भइसक्थ्यो !
उफ्! कतिले आत्महत्या गरिसक्थे !

 

२) यौटा यस्तो फूल चाहिन्छ

– वासु शशी

हाज त्याग्न सकोस
देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई
जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई,
म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी
रगतमा घोलिलिनेछु,
मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको आयु दिनेछु,
र त्यसले थाहा पाउने छः
एक पल्ट बिरुवामा
फूल दुइ पल्ट फुल्न सक्तछ
अर्को पल्ट मान्छेको मनमा

एउटा नदी चाहिन्छ
बग्न छाडियो भने कुहिनेछु भन्ने डरले मुक्त नदी,
किनारहरूले जोड़िएर अस्तित्व मासिदिन खोजे
तिनका माथि-माथि उत्रने हिम्मत भएको नदी
म त्यसैमा आफूलाई पखाल्नेछु, आफूलाई डुबाउनेछु,
आफूलाई भिजाउनेछु
म आफ्ना स्पर्शको होहल्ला मचाइदिनेछु त्यसको जीउभरि
म आफ्ना स्पर्शको हलचल मचाइदिनेछु त्यसको
अन्तर अन्तरसम्म

म छचल्काइदिनेछु त्यसलाई
पिउनेछु त्यसलाई र परितृप्त हुनेछु
र त्यसले पनि थाहा पाउनेछ कि त्यो पानी हो
र त्यो अरूलाई पनि पानी-पानी बनाउन सक्तछ

अरे, त्यस्तै फूल एउटी स्वास्नीमान्छे हो
स्वास्नीमान्छे, जो केवल स्वास्नीमान्छे हो
र फगत त्यस्तै स्वास्नीमान्छेमात्र लोग्नेमान्छे पाउन सक्तळे
लोग्नेमान्छे, जो लोग्नेमात्रै होइन, मान्छे पनि हो
र त्यस्तै स्वास्नीमान्छेमात्रै त्यस्तो नदी हो
जसलाई सुहागिन भन्न सकिन्छ
अरू सब त बिधुवा हुन बिधुवा
र त्यस्ताको ओछ्यानमा सुत्नेहरू पनि सब विधुरै विधुर ।

 

३) अस्तित्व सोच

– गोविन्द वर्तमान

मेरा क्रोधहरू सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रियाहरू सकिनेछन्
अपराधहरूमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु

म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये
घट्नेछ एउटा छायाँ
उज्यालो संसारको एउटा चेत सकिनेछ

म असाध्य माया गर्छु
मानिसका प्रेम र करुणाहरूलाई
उत्सवमा उठ्ने हात
र हावामा हल्लिने पताकाहरूलाई
प्रसन्न हुँदा उज्यालो
र खिन्न हुँदा अँध्यारो
प्रकाश र छायाँका भेदहरूजस्ता
मानिसका आवेगहरूलाई
म भएसम्म म प्रेम गर्नेछु निरन्तर
तर, जब सकिनेछु म
सकिनेछ अँध्यारो र उज्यालोको भेद

जब म सुन्न छाडेर बोल्नमात्र थाल्छु
म सकिनेछु
जब म आफैँलाई मात्र वास्ता गर्छु
म सकिनेछु
म सकिएपछि
संसारबाट एउटा अनुराग सकिनेछ
एउटा अनुरागबाट आउने
अर्को अनुराग सकिनेछ
केही अनुरागहरूको यात्राबाट पुगिने
प्रेमको गन्तव्य सकिनेछ
कसैले थाहा नपाए पनि
केही अधुरो हुनेछ संसार
जब म सकिनेछु

जब सकिन्छु म
एक्काइसौँ शताब्दीको यान्त्रिकताविरुद्ध
एक्काइसौँ शताब्दीकै ढुंगो उज्याएर
एक्काइसौँ शताब्दीको व्यापारलाई
हिर्काइरहने एउटा जीवन सकिनेछ
अथवा मुनाफाखोरीको खोरविरुद्ध
शब्दहरू खेलाइरहने एउटा निब सकिनेछ
फूलहरू सकिने छैनन्
तर सुगन्धको एउटा हिस्सा सकिनेछ

थुप्रै आन्दोलनहरू बाँकी रहे पनि
प्रेयसीलाई स्पर्श गर्दा
एउटा व्यक्तिमार्फत लोकले अनुभव गर्ने
एउटा आनन्द सकिनेछ
केही चुम्बनहरू सकिनेछन्
केही शुभकामनाहरू सकिनेछन्
केही उच्छवासहरू सकिनेछन्
यसरी म एक्लो सकिनेछु
तर मसँगै थुप्रै सुन्दरताहरू सकिनेछन्

पेन्टिङ : कलाकार गणेशकुमार जिसी ।
पेन्टिङ : कलाकार गणेशकुमार जिसी ।
यसबेला जब म आफ्नो अस्तित्व सोच्दैछु
म सकिएको छैन
तर सकिएका छन् भावनाका आदिम रूपहरू
अस्थिपञ्जरझैँ हाँस्ने
मञ्जनको विज्ञापनका दाँतहरू छन् वरिपरि
गणितका सूत्रहरूले बाँधिएका
हृदयहरू छन् वरिपरि
यही उपस्थितिको बीचमा
जोगाएर आफ्ना ऊर्जाहरू
सकेसम्म जोगिने प्रयत्नमा छु
यदि म जोगिइनँ भने
मसँगै सकिनेछन्
मजस्ता अर्बौँ मानिसहरू ।

 

४ ) सगरमाथा नाङ्गै देखिन्छ

– विक्रम सुब्बा

कुनै छलकपटको चीसो योजना थाल्न हो कि
या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो?
शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि
या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो?
आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडै पहाडको घुइँचो घारीमा
सबैभन्दा माथि उछिट्टएर फक्रेको
हिमालको थुङ्गा उदाङ्गै देखिन्छ
जताबाट हेरेपनि सगरमाथा नाङ्गै देखिन्छ !

प्रायः कुनै आरोहण दलको
पाइतालाले शिरमा टेकेको देखिन्छ
कहिले कुनै अराइएका चित्रकारहरूले
एक टुक्रा क्यानभासमा लेखेको देखिन्छ
बादलको थोत्रे बक्खु पनि फाटिसकेको
गौरवको बिचरो चुचुरो हृवाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !

बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखाहरू
स्तूपाहरूमा टाँसेर गुम्बाहरू हेरिरहेछन्-
विदेशीको भरौटे भएका सपुतहरू
स्वदेशी डोकोमा विदेशी झण्डा बोकिरहेका छन्
नेपाली चुचुराको सिउँदोमाथि फरफराउन
ढुक्कै विदेशी झण्डाहरू उक्लिरहेका छन्
झोक्रिएर बसेको सिङ्गो हिमालय विवश र उदाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !

 

५) समय दुख्छ यहाँ बाट

– पूर्णविराम

यो समय चितुवाले चिथोरेको
आभास लिँदै घाउ हेर्दै हिँड्नुपर्ने समय
घाम फर्केको इतिहास
नाङ्गा आँखा लिएर
दुःखी हुँदै पढ्नुपर्ने समय
तिमी आज पनि मेरा आँखामा लुक्यौ
केवल बतास पोखेर
दिन पनि लुक्यो
तिमी पनि लुक्यौ
दुख्छ यो समय यहाँबाट
अलिकति टाढाको ओछ्यान सम्झिँदा
भोक जति टकटक्याए पनि
जानै नमानेको यो समय
दुख्छ यहाँबाट पनि यो समय ।

प्वाँखहरूलाई एउटा न्यानो
गुफा दिन नसकेको समय
मानिसका बगलीहरूमा
विश्वास राखिदिन असमर्थ भइरहेको समय
प्रेमपूर्वक चलाउने
अधिकारभित्रको कपालमा
एक थुँगा फूल सिउरिन नसकेको समय
दुख्छ, यो समय दुख्छ
यहाँबाट पनि दुख्छ ।

ताजा घाउ पस्किन
मसँगसँगै आउन लागिरहेछ
एउटा समय सधैँको जस्तो
कसैले उपहार दिएको
पुरानो घडीको सुईबाट
कतिओटा सूर्य डुबे
घाम बाँड्न नसकेको कुरा सम्झिँदा
दुख्छ यो समय पनि ।

नीला मानिसहरूले
समयलाई अवलोकन
गरिरहँदा
यहाँबाट पनि यो समय दुख्छ
रगतको पसल थापेर
सुतिरहेको सडक हेर्दा
सडकले दुखाउँछ, समय दुख्छ
मात्र निद्राका लागि
धूलाहरू जम्मा पारेकोमा
त्यो समय पनि दुख्छ
यो समय पनि दुख्छ यहाँबाट
सानो झरीले पनि निभाउने
गरी फुकेको आगो यो समयभित्र दुख्छ
राहदानी लिएर बिदेसिएको
वसन्तलाई सम्झिँदा
वसन्त पनि दुख्छ
समय पनि दुख्छ ।

आफ्ना नङहरूले कोतरेर
सहरका सालिकहरूका पोसाकहरू
धुजा–धुजा पार्न सक्दिनँ
समय दुख्छ असमर्थ पिँजराभित्रबाट
आफ्नो मुखको बतास फुकेर
उडाउन सक्दिनँ एउटा बाज र
त्यसको आफलताफल बचेराहरू
सक्दिनँ, समय दुख्छ ।

खाली पेट दुख्छ
यहाँबाट पेटसँगसँगै
समय पनि दुख्छ ।

समयले दुखाउँदादुखाउँदै
प्वाँखहरू रोएका स्वरहरू
मैले सुनिनँ भने
हतकडी र नेलका इतिहासहरू
मेरा आँखाले सिंहावलोकन गरेनन् भने
मछेउ उभिएको सहिद हुन लागेको
मानिसको प्राथमिक उपचार
मैले गर्न सकिनँ भने
मलाई केही नभन्नू
कसैले केही नभन्नू
मैले भनेकै छु
भनिसकेकै छु, समय दुख्छ
यहाँबाट पनि समय दुख्छ ।

बाजका झुन्डहरूले
एउटा मानिसलाई
लखेटिरहेको बेलामा
मैले आफूलाई कन्याउन
बिर्सेको पनि हुन सक्छु
र चुपचाप अत्याचार हेर्ने मात्र
हेरिरहेको आँखा लिइरहेको हुन सक्छु
मैले त्यो थाकेको मानिसलाई
आफ्नो झुत्रो ओढनीभित्र लुकाएर
आफ्नो काखभित्र शरणार्थी शिविर
खडा गर्न सकिनँ भने
मलाई कसैले केही नभन्नू
म पनि अहिलेजस्तो
भन्दिनँ— समय दुख्छ
यहाँबाट पनि समय दुख्छ ।

 

६ ) मान्छे मरूभूमि होइन

– पारिजात

सास छउञ्जेल आश हुन्छ भन्छ
खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ
जतिसुकै डढेलो लगाउन्
अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ।

छोप्छन् आलो चिहानलाई
आलो सम्झनालाई
विस्मृतिका झारपातहरूले
भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा
फुल्छन् सक्रियताका फूलहरूे
मान्छे मरुभूमि होइन
ए ! मान्छे मरुभूमि होइन
प्रवृत्ति एकाएक र अन्तिमपल्टलाई कहिल्यै मर्दैन
मन त पल्हाउँछ घरीघरी, जाग्छ घरीघरी
मान्छेको मन मरुभूमि होइन।

किन के फरक छ दास युग र अहिले
त्रासदी भोग्नलाई? जिउँदो मान्छे डढेंकै छ
सुकुम्बासीको छाप्रोभित्र।
तर आज त्रासदी दुःख भएर
थुप्र्रै–थुप्रै दुःखी मान्छेहरूका सम्वेदनशील मनहरू
एउटा चाहनामा उनीएर बसेका छन्।

गल्ती गर्‍यो, जसले दुःखी मान्छेलाई मरुभूमि ठान्यो
गल्ती गर्‍यो, जसले संगीनमा उनीएको
सुकुम्बासी बाबुको रक्ताम्य लाश हेरेपछि
नाबालक छोराका आँखाहरू ढुंगा हुन्छन् भन्ने ठान्यो
गल्ती गर्‍यौ, जसले खरानीको डल्ला भएको
छोराको लाश देखेपछि
सुकुम्बासी बाबुको छात्ती बाँझो बगर बन्छ भन्ने ठान्यो।

नाबालक आँखाहरू ढुंगा हुन सक्दैनन्
बूढाको छाती बाँझो बगर हुनसक्दैन
आलो चिहानमाथि फुल्नै परेको छ
सक्रियताका फूलहरू।

मान्छे मरुभूमि होइन
रगत पात्लिंदैन भन्छ
रगत उम्लन थालेपछि पोख्नपर्छ भन्छ
नदी नै हो भान्छेको सहने शक्ति, पचाउन त सबै पचाउँछ
तर यस नदीमा पनि खतरा रेखा हुन्छ भन्छ
बाढ आउनुपर्छ भन्छ, बाढ
रगतको हिसाब किताब त हुन्छ हुन्छ
किनकि मान्छे मरुभूमि होइन।

 

७) तिमीले छोयौ, चोखिएँ

– वानीरा गिरि

तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
बाह्र वर्षे बाक्लो निद्रापछि ब्यूँझेर
सुनकेशरी रानी शीतल, सुगन्धित सरोवरमा नुहाउनु हो,
अनुभूतिका असंख्य असंख्य असर्फीलाई
मुटुको कन्तुरमा खुत्रुक खुत्रुक खसाल्नु हो,
किनार किनार सयपत्री र गोदावरी फूलका
नागबेलीबाट गुज्रनु हो,
आस्थाको जलप लगाएको जलहरीबाट
एक एक थोपा विश्वास तप तप तप्किनु हो ।

तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
औँसीको रात जुनेलीमा पखालिनु हो,
निरन्तर बगिरहन बागमतीका लहर लहरमा
जूनको झरबाट स्वर्णिम किरणहरू झर्नु हो,
ती सुनौला सम्मिश्रणलाई स्निग्ध सुन्दरीले
आफ्ना सुकुमारी आङमा खनाउनलाई
गाग्रामा उघाउँदै भर्नु हो,
थाहा छैन
यी समस्त समवेत स्पर्शबाट
जून चोखिएको छ,
बागमती चोखिएकी छ, अथवा स्निग्ध सुन्दरी !

तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
रामको स्पर्शबाट शीलापत्थर गौतमी बन्नु हो,
शबरीको जुठो बयरबाट
मर्यादा पुरुषोत्तम रामको मुख-शुद्धी हुनु हो,
तर थाहा छैन –
प्रकाण्ड विद्वान्‌हरूले यसलाई व्याख्या गर्लान् कसरी –
अक्षय-भक्तिबाट राम चोखिएका छन्, अथवा शबरी !