साथी,
छोड न यतिकै मूल्याङ्कन गर्न !
संसार विशाल आकासजस्तै छ
जहाँ तिमीले देखेको क्षितिज मात्र होइन
अदृश्य ताराहरूको मेला पनि छ

तर तिमी, एउटा बन्द कोठाभित्र बसेर
बाहिरको आकाशको गहिराइ मापन गर्न खोज्छौ
तिमीले देखेको संसार केवल तिम्रो सानो झ्यालसम्म सीमित छ
तर त्यो झ्यालबाहिर, हरियो वनजंगल छ
जहाँ हरेक पातले आफ्नो कथा बोकेको छ
साथी, निस्क तिम्रो साँघुरो सोचको पर्खालबाट
पूजा यो संसारलाई—
जसको प्रत्येक धर्तीमा रहस्य लुकेको छ
तिमी आफ्नो घरलाई सुनको महल ठान्छौ
तर के महलको चार पर्खालले जीवनको सम्पूर्णता देखाउँछ ?
तिमी भाडामा बस्नेहरूप्रति हँसिन्छौ
उनीहरूको संसारलाई शून्य ठान्छौ
तर के थाहा छ, उनीहरूको सपनाहरू आकाशजस्तै विशाल छन् ?
तिम्रो घर एउटा पहाड हो भने
उनीहरूको सपना नदीजस्तै
जुन पहाडको कठोरतालाई बगाउन सक्छ
तसर्थ, साथी, सोच बदल
संसारलाई साँघुरो आँखाले नहेर

हर मान्छे एउटा किताब हो
जसको प्रत्येक पानामा कथा छ
जसलाई पढ्न सक्नुपर्छ, बुझ्न सक्नुपर्छ
साथी,
तिमी अरुको अनुहार हेर्छौ
कपालको रङले उमेरको हिसाब गर्छौ
तर के थाहा छ ?
जवानी भनेको चन्द्रमाको प्रकाशजस्तै हो—
सुन्दर, तर क्षणिक
चन्द्रमा पूर्णिमामा चम्किन्छ
तर अमावस्यामा हराउँछ
त्यसैगरी, जवानी पनि समयको भेल हो—
आउँछ, तर बगेर जान्छ
के तिमी यो भेलमा आफैँलाई मात्र अड्याउने प्रयास गर्दैछौ ?
तिमी अरुको चाउरी परेका गालालाई हेर्छौ
तर आफ्ना प्रतिबिम्बमा परेका समयका निशानलाई बेवास्ता गर्छौ
साथी, उमेर शरीरमा होइन
सोचाइमा मापन गर्न सिक

तिमी आफ्नो छिटो विवाहलाई उपलब्धि ठान्छौ
र अरुलाई ढिलो विवाह गरेकोमा प्रश्न गर्छौ
तिमी अरुलाई सोध्छौ
“किन विवाह नगरेको?”
“के तिमीलाई डर लाग्छ?”
तर विवाह भनेको समयको कुरा हो
जुन सुमधुर तालजस्तै हो
जो सही लयमा मात्रै सुन्दर बन्छ

कसैका लागि विवाह पहाडको चुचुरो हो
जहाँ पुग्न साहस चाहिन्छ
तर अरूका लागि यो समुद्र हो
जसलाई महसुस गर्न समय चाहिन्छ
साथी, अरुको स्वतन्त्रतालाई कैद नगर्न सिक
सबैका पाइला आफ्ना छन्
सबैका बाटो फरक

त्यसैले, सोच बदल
अरुको रोजाइलाई सम्मान गर्न थाल
तिमी आफ्नो अंग्रेजी ज्ञानमा गर्व गर्छौ
तर मातृभाषाको जरा बिर्सन्छौ
भाषा भनेको केवल माध्यम हो—
आकाशमा उड्ने चङ्गाजस्तै
तर के तिमी बिर्सिन्छौ ?
चङ्गाको डोरी जमिनमै गाडिएको हुन्छ
मातृभाषा त्यो डोरी हो—
जसले तिमीलाई जरा र पहिचानसँग जोडेर राख्छ
संसारका सबै भाषाहरू फूलका थुँगाजस्तै हुन्
जसलाई जित्न सक्नु कला हो
तर आफ्नै फूल बगैँचामा हुर्काउन नसक्नु भनेको
संसार जितेर पनि आफूलाई हराउनु हो
साथी,
तिमी आफ्ना खेतबारी र घरलाई ठूला उपलब्धि ठान्छौ
तर सम्पत्ति भनेको बालुवाको महलजस्तै हो
जो समयको छालले बगाएर लैजान्छ
तिम्रो घर, तिम्रो सम्पत्ति
सबै अस्थायी छन्—
जुन केवल सपनाजस्तै झिल्के
तर मुठीमा अडिन नसक्ने
त्यसैले
आफ्नो सोचलाई फराकिलो बनाऊ
भनिन्छ,
“संसार जित्न केवल एउटा कोठा र विचारको पखेटा चाहिन्छ”
त्यो कोठा,
तिनको जिन्दगीको प्लेटफर्म हो—
जहाँ सपना बन्छ
साथी,
संसार चट्टानजस्तै कठोर पनि छ
तर समुद्रजस्तै गहिरो पनि
जसलाई केवल साँघुरो आँखाले नियालेर बुझ्न सकिँदैन
तिमी आफ्नो जिन्दगीलाई हेर्दा
संसारको विशालतालाई बिर्सन्छौ
छोड, अरुलाई हल्का आँकलन गर्न
छोड, अरुलाई साँघुरो दृष्टिले हेर्न
संसार विशाल छ, साथी
मानवता विशाल छ
सोच बदल
आफू बदल
र यो संसारलाई खुला आँखाले बुझ ।